नेत्र शाही
जुम्ला, मङ्सिर २८ गते । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो साता प्रकाशन गरेको तथ्यांकमा सो कुरा जनाइएको छ ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ ।
कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ बगैचामा गएको मुल्य प्रतिकेजी ६५ रुपियाँ ५० पैसादेखि माथि बगैचामै बिक्री भएको, केही पालिकाका बगैचामा ७० रुपियाँमा विक्री भएको छ । इटालियन फुजी स्याउ एकसय ७५ रुपियाँ भन्दा माथिको मुल्यमा विक्री भएको छ ।
कार्यालयका अनुसार यस बर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम चार हजार चारसय १५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला वाहिर गएको छ ।
यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात दुई हजार ६ सय ४८.८१ मेट्रिक टनको चाना, जुस, जाम, साईडर, ब्राण्डी, माड बनाइएको छ । यता उच्च घनत्वको स्याउ पाँचसय ८६ मेट्रिक टन उत्पादन भएको छ ।
घट्यो उत्पादन
असिना पानी र किराले अघिल्लो आर्थिक बर्षको तुलनामा स्याउ उत्पादन घटेको छ । कार्यालयका अनुसार गत बर्ष स्याउ फुल्ने वेलामा परेको असिनाले यस बर्ष स्याउ उत्पादन घटेको हो ।
स्याउ रोपियो
जुम्लामा स्याउ रोप्ने क्षेत्रफल बढ्दै गइरहेको छ । कृषि विकास कार्यालयको तथ्यांक अनुसार यस बर्ष चार हजार चारसय ९७ हेक्टर क्षेत्रफलमा स्याउ विरुवा रोपिएको छ । रोपिएको स्याउ मध्यमा दुई हजार एकसय ६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । उच्च घनत्वको स्याउ ५२ हेक्टरमा लगाइएको र यस बर्ष ४० हेक्टरमा उच्च घनत्वको स्याउ फलेको कृषि कार्यालयले जनाएको छ ।
जुम्लामा उत्पादन हुने स्थानीय स्याउ रेडडेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायतका विभिन्न जात फल्छन् भने उच्च घनत्वको स्याउमा गाला र फुजी रहेको छ ।