काठमाडौँ, मङ्सिर २८ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउँदै शनिबार सकिएको छ ।
साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ६ विकेटको हार चखाउँदै लुम्बिनी पहिलो पटक च्याम्पियन बन्यो । लुम्बिनीलाई च्याम्पियन बनाउन युवा बलर शेर मल्लको प्रदर्शन बेजोड रह्यो ।
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
यद्यपी सर्वाधिक विकेट किपरको पुरस्कार सन्दीपले पाउँदा शेरले प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड जित्नुभयो । पुरस्कारस्वरुप उहाँले पल्सर बाइक पाउनुभयो ।
लुम्बिनीलाई च्याम्पियन बनाउन आफ्नो प्रर्दशनसँगै समग्र टोलीको प्रदर्शन राम्रो रहेको शेरले बताउनुभयो । ‘‘पछिल्लो पाँच खेलमा हामीले जुन प्रदर्शन गरेका थियौँ । त्यसको जोसले हामीले उपाधि जित्यौँ । फाइनलमा झनै सजिलो भयो । टोलीलाई जिताएर आफुले ब्यक्तिगत पुरस्कार पाउँदा शुखी छु । जुन टिमको लागि खेल्छु त्यसैको लागि राम्रो गर्ने हो । गत सिजन जनकपुरबाट खेलेर ट्रफी जितेका थिए । यसपटक लुम्बिनीमा आएर झनै राम्रो गरेँ जस्तो लाग्छ । अब मेरो एउटै लक्ष्य सिनियर राष्ट्रिय टोलीबाट खेल्ने हो । त्यसैको लागि थप मेहेनत गरिरहेको छु,’’ शेरले भन्नुभयो ।
लगातार दोस्रो पटक उपाधि जित्न सफल शेरको प्रदर्शन अघिल्लो सिजन जनकपुर बोल्ट्सको उपाधि यात्रामा पनि उत्कृष्ट थियो । आवश्यकताअनुसार उत्कृष्ट बलिङ गर्न सक्ने शेरका लागि राष्ट्रिय टोलीको यात्रा राम्रो देखिएको कप्तान रोहित पौडेलले बताउनुभयो ।
‘‘जहाँ शेर त्यही उपाधि जस्तै भएको छ । उसले हरेक जसो अफ्टेरो समयमा टोलीलाई जिताउन महत्वपूर्ण विकेट लिएको छ । अबको राष्ट्रिय टोलीमा हामी उसलाई पाउन सक्नेछौँ,’’ रोहितले भन्नुभयो ।
शेरले यसअघि नेपाल यु-१९ र नेपाल ‘ए’ टोलीबाट खेलिसक्नुभएको छ । अब उहाँको एउटै सपना राष्ट्रिय टोलीबाट खेल्नु रहेको छ ।