• १५ चैत २०८०, बिहिबार

ठेकेदारले लगाए विद्यालयमा ताला

blog

सल्यान समाचारदाता

सल्यान, चैत ८ गते । विद्यालय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।

चार दिन पहिलेदेखि लागेको ताला अझै खुलेको छैन। त्रिवेणी गाउँपालिका–१, रिट्ठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले विद्यालयका दुईवटा भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।

आठकोठे र चारकोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ। विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको बताउनुभयो। उहाँका अनुसार ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ। यहाँ एसईईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेको तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताउनुभयो।  

विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार)विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ। यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ। 

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले अख्तियारले छानबिन गरिरहेकोले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने बताउनुभयो। उहाँका अनुसार विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणका पहल भइरहेको छ।