• ९ वैशाख २०८३, बुधबार

यातायात कार्यालयबाट एक बिचौलिया पक्राउ

blog

प्रवीणकुमार शर्मा 

रौतहट, वैशाख ९ गते । रौतहट सदरमुकाम गौरस्थित  यातायात व्यवस्था कार्यालयबाट बुधबार एक बिचौलिया पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका–५, दोस्तिया टोलका ४० वर्षीय लक्ष्मीकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

गौर नगरपालिका–३ स्थित यातायात व्यवस्था कार्यालय रौतहट परिसर भित्र सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अवैध रूपमा रकम असुल गर्नमा सक्रिय रहेको अवस्थामा केशरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

सेवाग्राहीका कागजात बोकी फोटो खिचाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) छिटो बनाइदिने भन्दै  बिचौलिया केशरीले अनावश्यक दुःख दिने र आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता बस्यालले बताउनुभयो ।

केसरीलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । बिचौलियाबाट सचेत रहन सेवाग्राहीलाई आग्रह गर्दै प्रहरीले  सेवा लिन सम्बन्धित कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेको छ ।