• ११ मंसिर २०८१, मङ्गलबार

हत्या कसुरमा जन्मकैदको फैसला

blog

फाइल तस्बिर– हत्या गरिएका शिक्षक नगेन्द्र बिसी । तस्बिर – कमल शर्मा

कमल शर्मा 

दैलेख, चैत ९ गते । जिल्ला अदालतले डेढ वर्षअघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले बुधबार कसुरदार मुना राना खड्कालाई जन्मकैद र मुनाका पति ३५ वर्षीय डम्बर खड्कालाई सफाइ दिएको जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


उहाँले कुरदारलाई जन्मकैद २५ वर्ष काराबास बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपियाँँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख गरिएको जानकारी दिनुभयो । मालिका माध्यमिक विद्यालय लालीकाँडा मुकुट्मा राहत शिक्षक पदमा कार्यरत ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफूमाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै मुना राना खड्काले हत्या गरेको बयान दिनुभएको थियो । 


घटनाको बेला सुर्खेतमा रहेका मुनाका पति डम्बरलाई मुनाले हत्या घटना लगतै मोबाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौँला’ भनी मेसेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो । लुकाउने प्रयास गरौँला’ भनी मुनालाई मेसेज लेखेकै आधारमा हत्या अभियोगमा उहाँ डेढ वर्ष थुनामा राखेर बुधवार मात्र सफाइ पाउनुभएको ।  


पीडित पक्षको उजुरी र प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ कात्तिक ४ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा कात्तिक ५ गते भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट थुनामा राख्ने आदेशअनुसार आरोपित मुना र डम्बरलाई जिल्ला कारागारमा राखिएको थियो ।