विष्णुप्रसाद देवकोटा
डोल्पा, चैत १० गते । कृषक समूहले व्यावसायिक बाख्रपालनका लागि विपन्न परिवारलाई उन्नतजातका बाख्रा वितरण गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका –७ छल गाउँका आर्थिक विपन्न परिवारलाई नाउला मेला कृषि तथा भेडाबाख्रा पालन वृक्षारोपण कृषक समूहले उन्नतजातका बाख्रा वितरण गरेको हो ।
भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाको आर्थिक सहयोग १५ लाख र नाउला मेला कृषि तथा भेडाबाख्रा पालन वृक्षारोपण कृषक समूहको पाँच लाख गरेर २० लाखको लागतमा नब्बे वटा बाख्रा खरिद गरेर समूहका सदस्यलाई वितरण गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले जनाएको छ ।
व्यावसायिक रूपमा भेडाबाख्राको पालन गरेर समूह सदस्यको आर्थिक जीवनस्तर माथि उठाउने उद्देश्यले आफूहरूलाई उन्नतजातको बाख्रा दिएको समूह सदस्य धना रोकायाले बताउनुभयो ।
समूहका सदस्यसचिव कमल रोकायाले व्यावसायिक रूपमा बाख्रापलन गरेर सदस्यको आर्थिक जीवनस्तर माथि उठाउनुका साथै बाख्रास्रोत केन्द्रको रूपमा समेत विकास गर्नेगरी व्यावसायिक बाख्रापालन सुरु गरिएको बताउनुभयो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख नवराज न्यौपानेले बाख्रा ब्लक विकास कार्यक्रम अन्तर्गत छल गाउँमा रहेको नाउलामेला भेडाबाख्रा पालन तथा कृषि वृक्षारोपण कृषक समूहलाई छनौट गरेर व्यावसायिक बाख्रा पालनका लागि सहयोग गरेको बताउनुभयो ।
यसैगरी उपल्लो डोल्पाका शे–फोक्सुण्डा र छार्काताङसोङ गाउँपालिका बाहेक अन्य ६ वटा स्थानीय तहमा भेडाबाख्रा ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । विगतमा कृषक समूह छनौट तथा बाख्रा वितरण गर्दा विभेद गरिएको गुनासो बढेपछि कार्यालयले सञ्चारकर्मीको रोहवरमा समूहले खरिदारी ल्याएका भेडाबाख्रा गोला प्रथाबाट समूह सदस्यलाई वितरण गरेको छ ।
त्यस्तैगरी भेरी कोरिडोर मत्स्यपालन कार्यक्रम अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका –६ पालङमा समेत बाख्रा वितरण गरिएको छ ।
कार्यालयले बाख्रा वितरण सँगसँगै समूह सदस्यलाई भेडाबाख्रामा लाग्ने रोग रोकथामको उपाय उपचार पद्धतिका बारेमा समेत तालिम सञ्चालन गरेको थियो । व्यावसायिक भेडाबाख्रा पालनको माध्यमबाट जिल्लामा सधैँ हुने मासु अभावलाई न्यूनीकरण गर्ने कार्यमा यो अभियानले सहयोग पुग्ने अपेक्षा उहाँहरूले गर्नुभएको छ ।