• ८ वैशाख २०८१, शनिबार

दैलेखमा पाँच हजार ७३५ परीक्षार्थीले एसइई दिने

blog

फाइल तस्बिर

कमल शर्मा

दैलेख, चैत ९ गते । चैत १७ गतेदेखि सुरु हुने एसइई परीक्षामा दैलेखबाट पाँच हजार ७३५ परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन बिस्टका अनुसार नियमित, ग्रेड वृद्धि र प्राविधिकतर्फ समेत  गरी पाँच हजार ७३५ जना परीक्षार्थी सामेल हुनेछन् । 

नियमिततर्फ पाँच हजार एक सय ८१ जना, ग्रेड वृद्धिमा चार सय १२ जना र प्राविधिकतर्फ एक सय ४२ जना गरी जम्मा ५ हजार ७ सय ३५ जना परीक्षार्थी रहेका छन् । एकाइ प्रमुख विष्टले परीक्षामा छात्रातर्फ तीन हजार दश जना र छात्रतर्फ दुई हजार सात सय २५ जनाले परीक्षा दिने जानकारी दिनुभयो । 

उहाँले जिल्लाका ११ वटा पालिकामध्ये सबैभन्दा बढी परीक्षा केन्द्र नारायण नगरपालिकामा पाँच वटा, ठाँटीकाँध, भैरवी, महावु, नौ मूले र भगवतीमाई गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र र गुराँस, डुंगेश्वर गाउँपालिका,दुल्लु, चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिकामा चाहिँ दुई वा दुईभन्दा बढी परीक्षा केन्द्र रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिकाअनुसार चैत १७ गतेदेखि २६ गतेसम्म साधारणतर्फ र चैत १७ गतेदेखि २९ गतेसम्म प्राविधिक धारतर्फको परीक्षा सञ्चालन हुनेछ ।