• १३ वैशाख २०८१, बिहिबार

खार्पुनाथको वित्तीय र भौतिक प्रगति न्यून

blog

समीक्षा कार्यक्रमका सहभागीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत ८ गते । खार्पुनाथ गाउँपालिकाले फागुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो । 

हालसम्म गाउँपालिकाद्वारा भए गरेका क्रियाकलाप सार्वजनिक गर्न गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो । प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यस वर्षको फागुन मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिनुभयो । यसमा पुँजीगत प्रगति भने झनै कम रहेको र त्यसमा फागुन मसान्तसम्म २५ प्रतिशत बजेट खर्च भएको पाइएको छ । 

अधिकृत शाहीले यसरी प्रगति कम देखिनुमा निकासा ढिलो आउनु, हिउँदमा हिमपात र कर्मचारी तथा जनप्रतिनिधि जिल्ला बाहिर जानु, विकास निर्माणका लागि जिल्लामा ल्याउन ढुवानी समस्या हुनु र कर्मचारी र जनप्रतिनिधिलाई सङ्घ तथा प्रदेशबाट तालिममा बोलाउने कार्यले पनि काम गर्न ढिलाइ भएको बताउनुभयो । पहिलो अर्धवार्षिक समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रत्येक शाखाले हालसम्मको प्रगति प्रस्तुत गरेका थिए । 

गाउँपालिका केन्द्रमा सार्वजनिक स्थानमा आयोजना भएको उक्त कार्यक्रममा हालसम्म गाउँपालिकाले तय गरेका कार्यक्रमअनुसार भएको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । गाउँपालिकाले यसरी पहिलो पटक अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रम गरेको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षता भएको कार्यक्रममा शाखाहरूले प्रस्तुत गरेका प्रगतिमाथि सहभागी सेवाग्राहीले राखेका जिज्ञासाको जवाफ समेत दिनुभएको थियो । 

उहाँले काम गर्न ढिलाइ भइरहेको समेत स्वीकार गर्नुभएको थियो । केही जिज्ञासाको जवाफ प्रशासकीय अधिकृत शाही र अध्यक्ष रावल, वडा ५ का वडा अध्यक्ष भरतजंग शाहीले समेत दिनुभएको थियो । कार्यक्रममा टुक्रे योजनालाई प्राथमिकता नदिन सुझाव दिइएको थियो । चालु आर्थिक वर्षमा खार्पुनाथको वार्षिक बजेट ४५ करोड रहेको छ ।