राजु लामिछाने
रुकुमपश्चिम, चैत ९ गते । रुकुमपश्चिममा परीक्षण र प्रदर्शनका लागि चैतेधान रोपिएको छ । मुसीकोट नगरपालिका–४, सोलाबाङमा चैतेधान रोपिएको हो ।
चैतेधानको सम्भाव्यता अध्ययनका लागि करिब तीन रोपनी खेतमा हर्दिनाथ–१ जातको चैतेधान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार आव २०७९/८० को चैतेधान उत्पादन प्रदर्शन कार्यक्रमअन्तर्गत चैतेधान रोपिएको हो । पानी कम हुने क्षेत्रमा चैतेधान राम्रो उत्पादन हुने केसीको भनाइ छ ।
पर्याप्त पानीको अभावमा जग्गा बाँझो राख्ने क्रमलाई रोक्न, खाद्य सुरक्षामा टेवा पु-याउन र चामलको आयात प्रतिस्थापन गर्न यस जिल्लामा चैतेधानको सम्भाव्यता अध्ययन भइरहेको निमित्त प्रमुख केसीले बताउनुभयो । बर्खेधान र गहुँको तुलनामा राम्रो उत्पादन हुने भएकाले चैतेधान खेतीलाई प्रवद्र्धन गर्न लागिएको हो ।
स्थानीय कृषक दीपेशकुमार खड्काको खेतमा पहिलो पटक धान रोपिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश चन्दले बताउनुभयो । किसानले फाट्टफुट्ट रूपमा यसअघि चैतेधान लगाउने गरे पनि रुकुमपश्चिममा संस्थागत रूपमा पहिलो पटक चैतेधान रोपिएको उहाँले बताउनुभयो । यसका लागि कार्यालयले मल, बिउ, प्लास्टिक, विषादी, प्राविधिक सेवालगायतको सहयोग गरेको छ । यो कार्यक्रम सफल भएमा आगामी वर्षदेखि विस्तार गर्दै लैजाने कृषि विकास कार्यालयको भनाइ छ ।