परदेशीलाई घर फर्काउँदै बिसु
शेरबहादुर सार्कीबाजुरा, चैत ३१ गते । बाजुरामा बिसु पर्वले भारतमा गएका परदेशीहरूलाई घर फर्काउने गरेको छ । यहाँका स्थानीयले बिसु पर्वलाई भव्य रुपमा मनाउने चलन पहिला देखि अहिले सम्म उस्तै रहेको छ । यो पर्व मनाउनका लागि गाउँ देखि बाहिर गएकाहरू पनि घर फर्किने गर्दछन् ।पुरानो वर्षलाई बिदाइ तथा नयाँ वर्षको आगमन हुने बेला अर्थात् चैत महिना सकिने र वैशाख महिना लाग्ने बेलामा यो पर्व पर्ने गरेकोले यती बेला बाहिर गएको परदेशीहरूको गाउँ फर्किने निकै लहर नै चलेको छ ।हिउँदमा खाली भएका गाउँ बस्ती यती बेला भरिभराउ भएका छन् । कामको खोजीमा हिउँदमा परदेशीएकाहरु यती बेला बिसु पर्व मनाउँन घर फर्किएपछि यहाँका गाउँ बस्ती भरिभराउ भएका हुन् ।गाउँ घरमा यो बिस पर्वलाई सधैँ रमाइलो गरी मनाउने भएकोले यती बेला परदेशमा गएकाहरू पनि घरमा फर्किने गरेको यहाँका स्थानीय बताउँछन् ।गरिबीले गाउँ छोड्न बाध्य बनाए पनि चाड पर्वले भने सधैँ यसरी नै आफूलाई घरमा फर्काउने गरेको बुढी गङ्गा नगरपालिका स्थानीय पदम सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो, “हाम्रा लागि जस्तै दसैँ , तिहार र होरी पर्व हुन । त्यसै गरी यो बिस पर्व पनि एक हो । त्यसैले यो पर्व मनाउन घरमा आएको छु । ”गत असोज कात्तिकमा दसैँ तिहारले मलाई घर फर्काएको हो । यती बेला पनि यो बिसु पर्वले नै मलाई घर फर्काएको सार्कीले बताउनुभयो ।बाजुराको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्द , बडिमालिका , गौमुल , बुढी गङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा बिसु पर्व भव्य रुपमा मनाउने चलन छ । यहाँका स्थानीयहरुले यो पर्वमा सेल पुरी र मिठा मिठा खानेकुरा बनाएर खाने गर्दछन् । यस पर्वमा इष्ट मित्रहरु छरछिमेकीहरु समेत घरमा आउने गर्दछन् । यो पर्वमा महिलाहरू रानी पुतली भनेर पुत्ला खेल खेल्ने गर्दछन् । भने केटा तथा युवाहरू बिसुलौरा (वन देखि काटेर ल्याएको काठको छडी ) काटेर घरमा ल्याउने गर्छन् । अनि त्यसै लौरा एक ठाउँमा जम्मा गरेर डोली जस्तै बनाउँछन् । त्यसै डोली माथि दुई जना युवाहरूलाई राखेर त्यसलाई कानमा चढाएर रात भरी रमाइलो गर्दछन् ।
गैरिटाँड–बाँसकाडा सडक कालोपत्रे हुँदै
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको चिसापानी जङ्गलघाट बडीमालिका सडक स्तरोन्नति आयोजनाको निमार्ण तीव्र गतिमा भइरहेको छ ।
असिनाले बालीनालीमा क्षति
बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्।
कान्द्रा नदीमा डुबेर बालकको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयास्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सडकसँग जोडिँदै कर्णाली पारीका दुर्गम गाउँ
बाजुराको पूवीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।
गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ । मेडिकल कलेज सञ्चालनमा नआउँदै
राजावादीले भ्रम फैलाउने काम गरे : एमाले महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
‘मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभएको छ ।
टाउको नभएको अवस्थामा महिलाको शव फेला
जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
कैलाली बहुमुखी क्याम्पसकाे स्ववियुमा नेविसङ्घको जित
कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ ।
'एआई'को प्रयोगबाट क्षयरोग जाँच
बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग क्षयरोग जाँच सुरु भएको छ ।
दार्चुलाका शिक्षकले पाए तलब, भत्ता
गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी) मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो ।
आगलागीपीडितलाई सहयोग
जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ ।
टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी
एकिन्द्र तिमिल्सेनाटीकापुर, चैत २९ गते । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस र कृषि विज्ञान सङ्काय स्कुल अफ एग्रिकल्चरको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ ।चैत २७ गते भएको निर्वाचनको २८ गते साँझ सार्वजनिक मत परिणाम अनुसार नेवि सङ्घका अध्यक्षका उम्मेदवार किरण साउँद ६५२ मत पाइ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार देवा शिषजंग थापाले ४२ मत पाउनु भएको छ । निर्वाचनमा कूल एक हजार २५४ मत खसेको थियो ।यसै गरी सचिवमा नेवि सङ्घकै उम्मेदवार छविलाल चौधरी ६१९ मत, कोषाध्यक्षमा डिम्पल चौधरी ६६६ मत पाइ विजयी हुनु भएको निर्वाचन अधिकृत आत्माराम अधिकारीले जानकारी दिनुभएको छ । सदस्यमा नेवि संघकै समीक्षा शाही, कुशल जैसी, शिशिर तिरुवा, आस्मा चौधरी, इशान लम्साल, मनोज धामी, अनुषा कुमारी चौधरी, शिशिर रावल विजयी हुनु भएको छ ।समानुपातिक तर्फ नेवि सङ्घले ६८२ मत, अनेरास्ववियुले ३१३ मत, नागरिक विद्यार्थी समाजले १२७ मत र अखिल क्रान्तिकारीले ११४ मत पाएको छ । निर्वाचनमा नेवि सङ्घ एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी, नागरिक विद्यार्थी समाज, अखिल समाजवादी संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । यस अघिको निर्वाचनमा पनि नेवि सङ्घ नै विजयी भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ।
चट्याङ लागेर १३ भेडा मरे
चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् ।
बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या
कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो ।
प्रथम नेपाल खो-खो लिगको उपाधि नेचर नेस्ट टाइगर्स
प्रथम नेपाल खो-खो लिग प्रतियोगिताको उपाधि नेचर नेस्ट टाइगर्सले पाएको छ । नेचर नेस्टले खो-खो खेलमा ४६ अङ्क ल्याएको हो ।
चट्याङ लागेर छोरीको मृत्यु, आमा घाइते
बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा बुढीगङ्गा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ महिने छोरीको मृत्यु भएको हो ।
असिनापानीले गहुँबाली नष्ट
बाजुरामा असिनापानीले गहुँबाली नष्ट पारेपछि यहाँका किसान निकै चिन्तित भएका छन् ।
सडक निर्माणको माग गर्दै कर्णाली पुलमा सुतेर अनशन गर्दै भण्डारी
चिसापानी–कुइने सडक निर्माणको माग गर्दै कैलालीका एक युवाले चिसापानी पुलमा अनशन थाल्नु भएको छ । स्थानीय नेत्र भण्डारीले पुलमाथि सुतेर अनशन थाल्नु भएको हो ।
सामाजिक विकास मन्त्री खड्काद्वारा आगलागी क्षेत्रको निरीक्षण
आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गर्नुभएको छ ।
दुर्गालक्ष्मीमा नेवि सङ्घका महरा प्यानलसहित विजयी
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का भुवन महरा निर्वाचित हुनुभएको छ।
इलामसँगै सुरु भएको बैतडीको चिया खेती कान्लामै सीमित
बैतडी, चैत २८ गते । कुनै बेला चियाका लागि प्रसिद्ध मानिने बैतडी खलङ्गाको चिया बगान अहिले खेतका आली र कान्लामा सीमित भएको छ । बैतडीमा चिया खेती हुन्छ भने कुरा अहिले सर्वसाधारणलाई मात्र होइन, कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायका पदाधिकारीलाईसमेत थाहा छैन । सदरमुकामको गढी आसपास क्षेत्रका केही घरमा अहिले पनि बैतडीकै चियाको उपभोग हुने गरेको छ । यद्यपि सरकारी उदासीनताका कारण व्यावसायिक खेती भने हुन सकेको छैन । दशरथचन्द नगरपालिका–४, खलङ्गाको गढी क्षेत्रमा राणा कालमै सरकारी स्तरबाट चिया बगान स्थापना भएको पूर्व प्रहरी अधिकृत एवं स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । बैतडीको चिया भारतको उत्तराखण्डसम्म जाने गरेको उहाँले बताउनुभयो । खलङ्गाको चिया पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घर कुरकुटियाँसम्म कोसेलीका रूपमा जाने गरेको उहाँले स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “इलाम र बैतडीमा सँगसँगै चिया खेती सुरु भएको हो । इलामको चिया विश्वभरि परिचित छ तर, बैतडीको चिया बगान मासिएर खेतका आली र कान्लामा सीमित हुन पुगेको छ । खलङ्गाका विभिन्न ठाउँको नाम नै चियाबारी, खोला बारी रहेका थिए । चिया बगानसँगै ती ठाउँका नाम पनि हराए । यो साह्रै दुःखको कुरा हो ।” खलङ्गा स्थित जिल्ला अदालत पछाडिको आफ्नो बारीमा अहिले पनि चियाका बोट रहेको प्रकाश चन्दले बताउनुभयो । उहाँले घरायसी प्रयोजन र आफन्त नातागोतालाई आफ्नै बारीको चिया उपभोगका लागि दिने गरेको बताउनुभयो । अधिकांश ठाउँमा स्याउला सोतरका रूपमा गाईबस्तुको गोठमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ १५÷२० बोटले घरका लागि वर्षभरि चिया खान पुग्छ । टिप्न छाडेका केही बोटका हाँगा बढेर फल लाग्ने गरेको छ । हाँगामा फलेका दाना बिउका रूपमा आफै उम्रिन्छन् । खेत जोत्ने बेला आफै उखेलिएर नष्ट हुन्छ ।” चैतदेखि वैशाखसम्म मुना टिपेर घरका लागि चिया पत्ती बनाउने गरेको उहाँले बताउनुभयो । थप्दै उहाँले भन्नुभयो, “ चियाको मुना टिपेर एक रात ओइलाउन दिन्छौँ । भोलीपल्ट हातले माडेर कपडामा पोको पारेर राख्छौँ । तेस्रो दिन सुकाउन राखेपछि बास्नादार चिया पत्ती तयार हुन्छ । बजारको चिया मिठो लाग्दैन । बैतडीको चिया जस्तो वासनादार पनि हुँदैन ।”आफ्नो बारीमा पनि चियाका बोट रहेको खलङ्गाका विकास चन्दले बताउनुभयो । अर्का स्थानीय सुदर्शन खड्काको बारीमा पनि चियाका बोट रहेको उहाँले बताउनुभयो । चिया खेतीका लागि राम्रो सम्भावना भए पनि यो विषयमा सरकारी स्तरबाट खोज अनुसन्धान हुनु पर्ने उहाँले बताउनुभयो । खलङ्गाका केही स्थानमा चियाका बोट रहेको आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । बैतडीमा कफी खेती भने राम्रो देखिएका बेला व्यावसायिक रूपमा चिया खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो । चिया खेती गर्ने कुनै किसान पनि कार्यालयको सम्पर्कमा आएका छैनन् । यद्यपि यो विषयमा स्थलगत निरीक्षण गर्ने उहाँले बताउनुभयो । नेपालमा चियाको इतिहासतथ्याङ्क अनुसार वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाँई थिए । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राट्बाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई दिएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । बैतडीमा कहिलेदेखि चिया खेती सुरु भयो ? भन्ने यकिन तथ्याङ्क नभए पनि इलामसँगै त्यति बेलाका अड्डा गौडाका बडा हाकिमको पहलमा बैतडीमा चिया खेती सुरु गरिएको स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दको भनाइ छ । उहाँले प्रहरीमा नोकरी गर्ने बेला आफू इलाम पुग्दा त्यहाँका स्थानीयले बैतडीको चिया बगान कस्तो छ ? भनेर आफूलाई सोधेको बताउनुभयो ।