• ३१ चैत २०८१, आइतबार

'एआई'को प्रयोगबाट क्षयरोग जाँच

blog

एआईको प्रयोग गरेर बैतडी कारागारमा क्षयरोगी जाँच्दै स्वास्थ्यकर्मी । तस्बिरः विपीन लेखक

गोकर्ण दयाल 

बैतडी, चैत २९ गते । बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग क्षयरोग जाँच सुरु भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरि नौ जना क्षयरोगी पत्ता लगाएको छ । 

थपिएका नयाँ बिरामीसँगै बैतडीमा १०७ जना क्षयरोगी उपचारको दायरामा आएका छन् । क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोकेर पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा खटिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको डिजिटल कम्प्युटर रोबर्ट हो । यसले मानिसको एक्स–रे गरेर सम्भावित क्षयरोग पत्ता लगाउँछ । एआईले एक्स–रेबाटै सम्भावित बिरामीको पहिचान गर्छ । सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनलायमा मात्रै छ ।”

एआईले पत्ता लगाएका सम्भावित क्षयरोगीको दोश्रो चरणमा खकार परीक्षण गरेर बिरामीको निःशुल्क उपचार सुरु भएको उहाँले बताउनुभयो । क्षयरोगीको खोजपड्तालका लागि एआईको प्रयोग गर्न दक्ष जनशक्तिसहित स्वास्थ्यकर्मीको टोली बैतडी र बझाङका गाउँमा घुमिरहेको प्रदेश स्वास्थ्य निर्देशनायका क्षयकुष्ठरोग अधिकृत मनोज ओझाले बताउनुभयो  । उहाँले यही चैत २४ गतेदेखि बैतडी र बझाङमा क्षयरोग खोजपड्ताल भइरहेको बताउनुभयो । 

बझाङमा पनि क्षयरोगका बिरामी नियमित उपचारमा भएकाले थप रोगीको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली बझाङको थलारा पुगेको उहाँले बताउनुभयो । बझाङमा १०५ जना क्षयरोगी नियमित उपचारमा रहेका छन् । क्षयरोगको औषधी नियमित सेवन गरे निको हुने बताइएको छ । यद्यपि स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरि १३ जनाको मृत्यु भएको छ ।  

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमख तिर्थराज भट्टले बताउनुभयो । क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली गाउँमा परिचालन भए सबै मौसमी रोजगारीका लागि भारत गएका मानिस खोजपड्तालको दायरामा आउन नसकेको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “लक्षण देखिएका बिरामी आफै पनि स्वास्थ्य संस्थामा आउन अपिल गरेका छौं । दुई हप्तासम्म लगातार खोकी लाग्नु, छाती दुखेर स्वाश फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन् ।” एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।