लीलाधर वली
घोराही, जेठ १९ गते । दाङमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावर हुँडारको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा दुर्लभ वन्यजन्तु भाले हुँडारको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।
वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने हुँडारको सवारीसाधनको ठक्करबाट मृत्यु भएको डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माले जानकारी दिनुभएको छ । उहाँले सोमबार बिहान दुर्घटना भएको र त्यस आसपास क्षेत्रमा सिसीटिभी नभएका कारण सवारीसाधनको पहिचान हुन नसकेको बताउनुहुन्छ ।
रेन्जर शर्माका अनुसार विगत लामो समयदेखि नदेखिएको हुँडार सडकमा मृत फेलापर्नु वन्यजन्तुको सुरक्षित बसोबासमा चुनौती खडा भएको बताउनुहुन्छ ।