• २२ चैत २०८२, आइतबार

सहकारीको गुणस्तर वित्तीय सुशासनमा आधारित हेर्नुपर्ने : कार्यवाहक प्रमुख डंगोल

blog

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमाडौँ, चैत २२ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन परदर्शिता, उत्तरदायित्व र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । ६९ औँ सहकारी दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सहकारी विभाग र जिल्ला सहकारी संघ काठमाडौँले संयुक्त रुपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सहकारीका कारण व्यक्तिहरु घरविहीन भएको, छोराछोरीको विवाहका लागि राखेको बचत नपाएको, औषधि उपचारका लागि रकम अभाव भएको जस्ता गुनासा लिएर बचतकर्ताहरु महानगरपालिकामा आउने गर्नुभएको र उहाँहरुलाई स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर सहजीकरण गरिरहेको उहाँको भनाइ थियो । ‘‘सहकारी क्षेत्रमा समस्या छ भनेर सबै सहकारीलाई एउटै दृष्टिले हेर्न हुँदैन । उद्देश्यअनुरुप र प्रतिफलमा काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्छ ।  सहकारी क्षेत्र स्वनियमन र स्वनियन्त्रणमा आधारित संस्था भएकाले बाह्य नियन्त्रण आवश्यक नपर्ने गरी प्रणाली चलाउनु पर्छ ।’’ डंगोलले धारणा राख्नुभयो ।

सञ्चालक सम्पर्कमा नभएका सहकारीहरुको घरकोठा खाली गराउने प्रक्रियालाई महानगरपालिकाले अगाडि बढाएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भन्नुभयो, ‘‘न्यायिक समितिमा परेका उजुरीमा गरिएका निर्णयहरु कार्यान्वयन गर्दै केही सहकारीहरुको घरकोठा खाली गराइसकिएको छ ।’’


सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार महानगरपालिका क्षेत्रभित्र एक हजार ९१२ वटा सहकारी संस्था छन् । यसरी सञ्चालन भएका सहकारीहरुबाट सँग सम्बन्धित वचत रकम फिर्ता नदिएको, शेयर रकम फिर्ता नदिएको, वचत रकममा धेरै करकट्टी गरेको, सञ्चालकहरु भाग्न लागेकोले आफ्नो वचत जोखिममा परेको, समयमा साधारण सभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या लिएर वचतकर्ताहरु महानगरपालिकामा आउने गर्नुभएको छ ।  

विभागमा आउने धेरै उजुरीहरु सञ्चालक समितिका सदस्य, वचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, वचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।

सहकारीहरुसँग घरधनीहरुको समस्या पनि जटिल छ । सहकारीले घरभाडा नतिरेको, कार्यालय धेरै समयदेखि राखेको, कार्यालय सञ्चालन भए नभएको जानकारी नदिएको, बचतकर्ता आएर कार्यालय तोडफोड गर्दा आफ्नो घरको संरचना नष्ट भएको विग्रिएको उहाँहरुका मुख्य गुनासा हुन् । यस्तै कोठा खाली गरि दिनु पर्‍यो, भाडा रकम पनि त्यही सहकारीमा वचत गरेको थिएँ डुब्ने भयो उठाउने उपाय के हुन सक्छ, घरधनी समस्या लिएर आउने गर्नुभएको छ ।


कर्मचारीहरु तलव नपाएको गुनासो लिएर आउनुहुन्छ । सहकारीमा आफूलाई सञ्चालक राखेको थाहा पाइन । वचत खर्च नजनाई  सञ्चालकले रकम लैजाने गरेको, यसमा बचतकर्ताले कर्मचारीलाई दवाव दिने गरेको कर्मचारीहरुको गुनासो छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत र नेप्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल वित्तीय सुशासनमा जोड दिँदै सहकारी क्षेत्रका नकारात्मक पक्षभन्दा सकारात्मक योगदानलाई समाजमा प्रस्तुत गर्दै विश्वास पुनःस्थापना गर्नुपर्ने, सञ्चालकहरुले आफ्नै व्यवहारबाट उद्यमशीलता र पारदर्शिता देखाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य तथा विचार गोष्ठीका कार्यपत्र प्रस्तोता विष्णु पौडेलले सहकारीको मूल अवधारणा उत्पादनका साधन समुदायमा वितरण गर्नु भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल देशभर ३२ हजार ९६५ सहकारी संस्था रहेका छन् भने एक करोड नौ लाखभन्दा बढी सदस्य आबद्ध छन् । कुल सेयर पुँजी करिब एक खर्ब ४३ अब रुपियाँभन्दा बढी, बचत संकलन ११ खर्ब २५ अर्ब रुपियाँभन्दा बढी र ऋण लगानी नौ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी छ ।

कार्यक्रमले सहकारी क्षेत्रका चुनौती, समाधानका उपाय र सुधारका दिशामा छलफल गर्दै पारदर्शी र उत्तरदायी सहकारी प्रणाली निर्माणको आवश्यकतामा जोड दिएको छ ।