काठमाडौँ, चैत २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले आइतबार विज्ञप्ति जारी गर्दै व्यक्तिगत एवं पार्टीका तर्फबाट शुभकामना दिनुभएको हो ।
सभापति लामिछाने प्रस्तावक तथा डा. स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतम समर्थक रहेको उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गर्ने सम्पूर्ण राजनीतिक दल र सांसदलाई पार्टीले धन्यवादसमेत दिएको छ ।
विज्ञप्तिमा नवनिर्वाचित सभामुख अर्यालले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख छ । सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले कुनै कसर बाँकी नराख्ने विश्वास सभापति लामिछानेले व्यक्त गर्नुभएको छ ।

सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्पराअनुरूप उम्मेदवारी दिएकै समयदेखि अर्याल पार्टीको जिम्मेवारीबाट अलग रहनुभएको विज्ञप्तिमा उल्लेख छ । यस ऐतिहासिक अवसरमा सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता र विधिको शासनलाई केन्द्रमा राख्दै सफल कार्यकाल प्रदान गर्ने रास्वपाको विश्वास छ ।
साथै, रास्वपाले ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै सदनको प्रारम्भिक कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउनुभएकोमा अर्जुननरसिंह केसीबीप्रति धन्यवाद व्यक्त गरेको छ ।