बाँसुरी मेरो अभिन्न साथी हो । यदि म चिकित्सक नभएको भए एउटा राम्रो बाँसुरीवादक हुन सक्थेँ कि ? प्रथम पटक कसले मेरो हातमा बाँसुरी थमाइदियो र को ले बजाउन सिकाइदियो । मलाई हेक्का छैन । म गर्भमा हुँदा बा बितिसक्नुभएको थियो । मेरो काठे मञ्जुषामा नयाँ–पुराना एक दर्जन बाँसुरी छन् । फरक फरक बाँसुरीका धुन बजाएर प्रत्येकलाई क्रियाशील बनाइराखेको छु । आजको यो अठारौँ शताब्दीको बढ्दो आकर्षणले म चिकित्सक बनेँ । चिकित्साशास्त्र पढेर मलाई कहिल्यै पछुतो भएन । झ्वाट्ट हेर्दा यी दुई कुरा एकदम भिन्न देखिन्छन् । फरक फरक आयाममा अवस्थित यिनले मलाई बेग्लै महत्व दिएका छन् । चिकित्सा पेसाले कर्मशील सेवक बनाएको छ भने बाँसुरीले मेरो कर्मलाई गति दिएको छ । दुवैको म ऋणी छु ।
मैले काम गर्ने अस्पतालमा बिरामीको चाप थामिनसक्नु छ । बिहान, दिन र रातको ड्युटी रोस्टरमा बाँधिएको कार्यव्यस्तताले गर्दा थकित भएर प्रायः म छतमा जाने गरेको छु । आकाशमुनि बाँसुरी बजाउँदै म थकाइ मेट्छु । कुनाको ढोका खोलेर उनी विस्तारै आउँछिन् । धुन पूरा नभएसम्म उभिएर सुनिरहन्छिन् । रातिको खाना खाएर एकअर्काको अँगालोमा हामी रात काट्छौँ । आज यो प्रथम डिसेम्बरको रात अझ तन्किँदै र लम्बिँदै गएको छ । आँखाबाट निद्रा खै कता भाग्यो । भित्र...भित्र कता, कता मन–तुफान उर्ले झैँ भएकाले म सोचमग्न भएँ । म धेरै र बेग्लै कुरा गर्न चाहन्थेँ । एउटा वरिष्ठ चेस्ट फ्रेन्च फिजिसियन बनेर पनि म सन्तुष्ट छैन । मैले गर्ने गरेका हरेक कार्य र उपचार अरूले दिएर गएका देन हुन् । आफूले गरेको भन्नु मेरो केही भएन । ओहो !
आजको रात...।
प्रोफेसर डा. रेने थिउफीले लामो सास फेर्दै जुरुक्क उठे । भान्सामा पसे । थर्मसको तातोपानी गिलासमा खन्याई कफी बनाएर पिउन थाले । श्रीमती रेनेको निद्रा खुल्यो । भान्सामा पस्दै बोलिन् “Pardon monisiur‘ निद्रा परेन । अँ सन्चो भएन कि ?”
“प्रिय मलाई ठिक छ । तिमी सुत... जाऊ ।” उनी एकछिन मौनवत् भइन् । श्रीमान्तर्फ एकोहोरो हेरिरहिन् । श्रीमान्को अनुहारभरि चिन्तित रेखा सलबलाइरहेको
प्रस्ट देखिन् ।
“आज तपाईंलाई किन म चिन्तित देख्छु ?”
“हैन...हैन... अरू केही होइन । हेर प्रिय चिकित्साशास्त्रमा म धेरै गर्न चाहन्थेँ । केही गर्न
सकिएन, प्रिय ।”
उनले अचम्म मानेर भनिन्, “तपाईं एउटा राम्रो प्रोफेसर र असल चिकित्सक हुनुहुन्छ तैपनि ..।”
बीचैमा कुरा काटेर रेने बोले “मैले कुनै नयाँ देन दिन सकेको छैन नि ..।”
“ती शोध–प्रबन्ध र कैयौँ शोध–कार्यहरू के हुन् नि ।”
“ती कुनै असाधारण अन्वेषण होइनन् । गहकिलो दिएर म चिरस्थायी भएर मर्न चाहन्छु ... ma Cherie ।”
“त्यो दिन अवश्य आउने छ ।”
डाक्टर रिने श्रीमतीतर्फ आशलाग्दो दृष्टिपात गर्दै मुस्कुराए । अनि विस्तारै बोले “अब सुतौँ भोलि चाँडै अस्पताल पुग्नु छ Bon nuit, ma cherie . Bon nuit...।”
हल्का ब्रेकफास्ट गरेर प्रोफेसर डा. रेने हतार हतार अस्पताल हिँडिहाले । पेरिसको नेकर अस्पताल उनको घरदेखि लगभग आधा घण्टाको बाटो हिँडाइ पथ्र्यो । डम्म हुस्सुले चारैतर्फ ढाकिएर उनलाई छिटो छिटो पाइला चाल्न धौ धौ परेको थियो । पाइला विस्तारै चाल्दै उनी सोच्दै थिए । “जमानामा ग्रीक भाषा र नृत्य सिकेँ साथसाथै कविता पढेँ र लेखेँ पनि । ती कति मजाका दिन थिए । अहिले बिरामीको रेखदेख र उपचार गर्नुमा अर्कै आनन्द छ । छाती रोगसम्बन्धी रोगको पहिचान र निदान गर्न मुस्किल परिरहेको छ । के गर्ने होला... ? मृत्युदर बढेको बढ्यै छ ।”
कता...कता कसैले भने जस्तो लाग्यो “पुगेको छैन । अझै अगाडि बढ डा. रेने ।”
बिहानीको कुहिरोले सडकभरि धवल शीतले पत्रैपत्र बिछ्याइसकेको हुँदा पटक पटक उनको जुत्ता लरक लरक चिप्लिँदै जान्थ्यो तर उनले आफूलाई लड्न दिएनन् । उनको सोचाइको ध्यान बिरामी र अस्पतालतर्फ मोडियो । “बिरामीको नाडी छामेर र छातीमा कान जोतेर फोक्सोमा जमेको श्लेष (कफ) को अनुमान लगाउनु कति झन्झटिलो एवं अव्यावहारिक छ । झन् महिला बिरामीमा यो प्रव्रिmया अपनाउनु कति मुस्किल र असुहाउँदो... हरे ।”
अचानक उनी टक्क रोकिए । मूल सडकको छेउमा पाँच/सात जना भुराभुरी खेलिरहेका थिए । तीमध्ये दुई जना केटाको खेलाइमा उनको ध्यान आकर्षित भयो । उनका आँखा हेरेको हे¥यै भए । आठ/दस वर्षका ती दुई केटा एउटा डोलो र लामो काठको टुक्रालाई एकअर्काको कानमा राखेर पालैपालो काठको पछाडिको खाली भागमा मोटो फलामको किलाले रगडेर आवाज सुन्दै र हाँस्दै थिए । कसैले कुनै अचम्मको चिज डाक्टर रेनेको दिमागमा खन्याइदिए झैँ भयो । यस प्रक्रियागत खेलाइलाई केहीबेरसम्म उनले ध्यानपूर्वक हेरिरहे ।
अस्पतालको प्राङ्गणमा उनी पुग्दा हुस्सु र कुहिरोले पूरै भुइँ छोडिसकेको थियो । उनले उभिएर आँखा चिम्म गरे । एकछिनको न्यानो घामको रापले शरीरमा ऊर्जा फैलिँदै गयो । अफिस कोठाभित्र पुगेर छेउकै दराज खोलेर एउटा पुरानो बाँसुरी झिकेर ओल्टाइपल्टाई हेर्दै गर्दा उनीमा बेग्लै तर्कक्रमको हुटहुटीले मन मन्थन जगायो । नवआविष्कारको द्वार समीप पुगेको उनले महसुस गरे ।
मनमा झ्वाट्ट आयो, “यो त वस्तु र आवाजबीचको जादुमयी जुक्ति भएछ ।”
आफ्नो सहायक डा. फिलेटसलाई बोलाई सोधे, “आजका बिरामीको स्थिति के के छ ?”
“सर आज कुनै एक्युट इमरजेन्सी केस छैन । सङ्क्रामक रोगका केही बिरामी र दीर्घरोगीलाई जाँचेर औषधी चलाइसकेको छु ।”
“ल ठिक छ । विभाग तिमीले समाल्नु । मैले धेरै गर्नु छ । पछि भन्ने छु ।” “हस् सर ।”
उनले पुनः घर्राबाट बाँसुरी झिकेर हेर्दै सोच्न थाले, “अब केही उपयोगी उपकरणको सम्भावना देखियो । जसलाई प्रयोग र परीक्षणद्वारा सिद्ध गर्ने हो । प्रत्येक बिरामी या रोगी हाम्रा मान्छे हुन् । मैले उनीहरूका लागि जसरी भए पनि केही गर्नै पर्छ ।”
उनले पूरा हप्ता यसैको धुनमा रातदिन लागिरहे । हप्ता दिनमा केही रूप आकारसहित उद्देश्य प्राप्तिको आभास उनलाई भयो । जम्मा महिना दिनको अथक प्रयासमा डा. रेनेले बाँसुरी जस्तो खोक्राे २५ सेमी लम्बाइ र ३.५ सेमी व्यास भएको काठको उपकरण तयार पारे । उपकरण तयार भइसकेको भोलिपल्ट बिहान ती बालबालिकालाई सोही ठाउँमा धुइँ–धुइँती खोजे तर भेट्न सकेनन् ।
अस्पताल पुग्नासाथ सहायक डा. फिलेटसलाई बोलाई उनले उपकरणबारे चिनारी दिए । बिरामीमा प्रयोग गर्दा त्यो प्रभावकारी हुने सम्भावना देखियो । डा. फिलेटसले खुसी हुँदै सोधे, “यसलाई के
नाउँ दिने सर ?”
डा. रेनेले जवाफ दिए, “स्टेथेस्कोप ।” एकछिन मधुरतम् शून्यता छायो । मौनतालाई छिचोल्दै डा. रेने गदगद भएर बोले “Wouh:====finita la commedia (याहु......खेल खतम्) ।”