अविनाश चौधरी
धनगढी, चैत ३१ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो । फागुनदेखि जेठसम्म शुक्लाफाँटाको अवलोकन, भ्रमण गर्ने उपयुक्त समय मानिन्छ । सिजन चलेसंँगै निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना शुक्लाफाँटा घुमघामका लागि आइरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । “अहिले पर्यटक आउने व्रmम बढेको छ,” उहाँले भन्नुभयो । शुक्लाफाँटा दुर्लभ पाटेबाघ, एकसिङे गैँडासहित विभिन्न वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध छ । निकुञ्जको फाँटमा देखिने बाह्रसिग्ङेको झुन्ड जोकोहीलाई पनि आकर्षित गर्ने गरेको छ । यसै गरी हिरापुर घाँसे मैदानमा रहेको कृष्णसारको बथानले पनि पर्यटक तान्ने गरेको छ ।
निकुञ्ज कार्यालयका अनुसार चालु आव २०८१/८२ को फागुनसम्म एक हजार ४७९ पर्यटकले शुक्लाफाँटाको अवलोकन गरिसकेका छन् । जसमध्ये नेपाली एक हजार ३५२, सार्क मुलुकका ४६ र अन्य मुलुकका विदेशी पर्यटक ८१ जना रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
गत आव २०८०/८१ मा चार हजार पाँच जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । जसमा सबैभन्दा बढी तीन हजार ७६२ जना आन्तरिक पर्यटक रहेका थिए । यसै गरी १३२ जना सार्क मुलुक र १११ जना अन्य देशका विदेशी पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । आव २०७९/८० मा तीन हजार ६७ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३२ सार्क राष्ट्रका, ११८ विदेशी र दुई हजार ८१७ आन्तरिक पर्यटक रहेका थिए । यसअघि आव २०७८÷७९ मा दुई हजार ७२९ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । निकुञ्ज भ्रमणमा आउनेमा विगतदेखि नै ९० देखि ९५ प्रतिशत आन्तरिक पर्यटक छन् ।