यज्ञप्रसाद सापकोटा
बर्दिया, चैत २८ गते । प्रथम नेपाल खो-खो लिग प्रतियोगिताको उपाधि नेचर नेस्ट टाइगर्सले पाएको छ । नेचर नेस्टले खो-खो खेलमा ४६ अङ्क ल्याएको हो ।
आज भएको फाइनल खेलमा नेचर नेस्ट टाईगर्स र विकास प्रेमी ब्ल्याक बकबिच खेल भएको थियो । फाइनल खेलमा पराजित भएर दोस्रो भएको विकास प्रेमी ब्ल्याकबकले ४२ अङ्क प्राप्त गरेको थियो
प्रतियोगितामा प्रथम हुने नेचर नेस्ट टाइगर्सले शिल्डसहित दुई लाख ५० हजार नगद पुरस्कार पाएको छ भने दोस्रो हुने विकास प्रेमी ब्ल्याक बकले एक लाख ५० हजार नगद पुरस्कार पाएको छ ।
नेपालमै पहिलो पटक आयोजना गरिएको खो खो लिग प्रतियोगितामा ५ वटा समुहबिच प्रतिस्पर्धा भएको थियो । गत चैत २४ गतेबाट सुरु भएको खेलमा १४ वटा खेल भएको नेपाल खो खो सङ्घका केन्द्रिय उपाध्यक्ष छत्र बहादुर शाहीले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भूमि मानिन्छ । गत पुषको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो–खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए ।
विश्वकप खो–खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो-खो खेलको प्रवर्धन गर्न सुरु गरिएको थियो ।