नीराजन परियार
चौमाला (कैलाली), चैत ३० गते । सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ । मेडिकल कलेज सञ्चालनमा नआउँदै तीन जना प्रमुख फेरिएका छन् भने करार र ज्यालादारीमा भर्ना गरिएका ६३ जना कर्मचारी गत पुसदेखि करार अवधि थप नहुँदा बिनापारिश्रमिक नै काम गरिरहेका छन् । अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले सेवा विस्तारमा समस्या भएको बताइएको छ ।
मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम भने छ अर्ब ५८ करोड रुपियाँ खर्चेर पूरा भइसकेको छ तर सरकारले यसको सञ्चालन निर्देशिका स्पष्ट नगर्दा कहिले हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।
सरकारले २०७३ सालमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भनेर सुरु गरेको अस्पतालको भौतिक संरचना ५१ हेक्टर क्षेत्रफलमा फैलिएको र कलेजका लागि आवश्यक पर्ने ४२ वटा संरचना तयारी अवस्थामा छन् । जसमा छ सय श-याको अस्पताल र चिकित्सा शिक्षाको एमबिबिएस पढाउनका लागि फर्निसिङसहितको तयारी भइसकेको छ । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर यसलाई अलझ्याउने काम मात्र हुँदै आएको हो ।
सङ्घीय सरकारले २०८० असारमा न्यूनतम सुविधासहित एक सय शøया क्षमताको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले ५० शøया क्षमताको अस्थायी स्वीकृति मात्र प्रदान गरेर थप अल्झाइदिएको छ ।
राजनीतिक दाउपेचका कारण यो अस्पताल सुरु भएयता तीन जना प्रमुख फेरिसकिएका छन् । गत फागुनयता प्रमुख नहुँदा करार र ज्यालादारीमा काम गरिरहेका ६३ जना कर्मचारीको नियुक्ति थप नहुँदा तलब खानबाट वञ्चित भएको सूचना अधिकारी नैनसिंह कार्कीले बताउनुभयो ।
कलेज प्रशासन र अस्पताल भवन स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गरिएको गेटा अस्पताललाई हस्तान्तरण गरिए पनि बाँकी संरचना अहिले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ । यसलाई पूर्वाधार विकास निर्माण समितिले रेखदेख गरिरहेको छ ।
२०८० भदौमा सो कार्यालयका प्रमुख सेवानिवृत्त भएपछि एक जना इन्जिनियरले रेखदेख गर्दै आउनुभएको छ । तयारी अवस्थामा रहेको मेडिकल कलेजका भवन लामो समयदेखि प्रयोगविहीन रहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताउनुभयो ।
प्रमुख दलका लगभग सबै शीर्ष नेतादेखि हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यसको अवलोकन र निरीक्षण गरिक्नुभएको छ । केही दिनअघि मात्र कैलाली पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षभित्र सञ्चालन हुने गरेर प्रव्रिmया अघि बढेको बताउनुभएको छ । मेडिकल कलेज सञ्चालन गर्ने भनेर तयार भएका संरचनालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भनेर तयार पारिएको विधेयक राष्ट्रिय सभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ ।