निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजाति आयोगको माग
आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।
कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्य क्षेत्रमा खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि ८ जना महिला सिफारिस
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ । प्रदेश सभा प्रत्यक्षतर्फ १ जना र समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ ।
आगामी निर्वाचनमा १० हजार ८८८ मतदान स्थल
निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरवलोकन गर्दा गत स्थानीय चुनावको भन्दा आगामी चुनावमा नयाँ १३२ मतदान स्थल थपिएका छन् । आयोगले पुनरवलोकन गर्दा गत स्थानीय निर्वाचनका बेला निर्धारण भएका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरेको छ । खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई हटाई नयाँ कायम गरिएको आयोगले जनाएको छ ।
महिला उम्मेदवार बढाउन पैरवी
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहँदा महिला अधिकारकर्मी भने दलहरूले महिला उम्मेदवारलाई बढी टिकट प्रदान गराउन पैरवी गर्दै छन् । उनीहरूले संविधानमा व्यवस्था गरिएको समावेशीको अवधारणा सही तरिकाले कार्यान्वयन हुन नसक्दा राजनीतिक दलहरूले त्यसको दुरुपयोग गरिरहेको पनि गुनासो गरेका छन्। समावेशीका नाउँमा राम्रालाई भन्दा हाम्रालाई अवसर दिने प्रवृत्ति परिवर्तन हुनुपर्ने उनीहरूको भनाइ छ।
मनोनयनपछि बहाल रहनेगरी कानून संशोधन उचित होइन
उम्मेदवारले मनोनयनपछि पनि पदमा बहाल रहनेगरी कानून संशोधन गर्नु उपयुक्त नहुने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सोमबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्नुहुँदै सो कुरा स्पष्ट पार्नुभएको हो ।
माओवादीका महासचिव गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सिफारिस हुनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको हो ।
सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।
मतपत्र छपाइमा अन्योल
मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो।
नुवाकोटमा कांग्रेसबाट १२७ उम्मेदवार सिफारिस
मङ्सिर ४ गतेका लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् ।
सत्ता गठबन्धन : अब उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै
सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त छन् ।
बाँके तीनबाट आरजु देउवा सहित तीन जनाको नाम सिफारिस
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तीन जना केन्द्रीय नेताको नाम सिफारिस भएको छ ।
प्रत्यक्षमा महिला उम्मेदवारीको माग
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग गरिएको छ । दलित महिला केन्द्र नेपाल र माण्डवीद्वारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारीबारे राजनीतिक दलसँगको अन्तक्र्रियामा यस्तो माग गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् ।
आमनिर्वाचन २०७९: दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने
आगामी चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा आवश्यकमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिनुभयो। आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको सङ्ख्या करिब २३ हजार सात सय हुने अनुमान गरेको छ। स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो। प्रवक्ता पौडेलले भन्नुभयो, “तर मतदान केन्द्र पुनरवलोकन भएर बढ्ने सम्भावना रहेकाले सोही अनुपातमा जनशक्ति थपिने छन्।”
११ करोडको निर्वाचन सामग्री खरिद गर्दै आयोग
निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिद प्रक्रिया अघि बढाएको छ । ४५ दिनभित्र आपूर्ति गर्ने गरी ११ करोड ४७ लाख दुई हजार ३५० को निर्वाचन सामाग्री खरिद सुरु गरेको छ ।
निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो ।
मतपत्र छाप्ने कागज किन्न समस्या
आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताउनुभयो। आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो। तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ। आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो।
निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।
निर्वाचन खर्चमा १० अर्बको सीमा
अर्थ मन्त्रालयले आगामी निर्वाचनमा निर्वाचन आयोगबाट हुने खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले १० अर्बको सीमा तोक्दै बजेट स्वीकृत गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मन्त्रालयले स्वीकृत गरेबमोजिम आयोगले अब विभिन्न शीर्षकका लागि बजेट परिमार्जन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कुन शीर्षकमा कम गर्न सकिन्छ, मन्त्रालयले तय गरेको सीमाभित्र रहेर आयोगले परिमार्जन गर्नेछ।” निर्वाचनमा परिचालन हुने जनशक्तिको बीमा, निर्वाचन शिक्षा तथा मतदान सामग्री खरिद शीर्षकको बजेट मिलाउनेछ।
निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
८७ दलको दर्ता स्वीकृत
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको छ । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो । आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ; जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।
निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।