• १६ वैशाख २०८१, आइतबार

माओवादीका महासचिव गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस

blog

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ । तस्बिरः गोरखापत्र

लमजुङ, भदौ २० गते । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको हो । 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उहाँ वि.स. २०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबिच गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।

उहासंगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ । प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ । प्रदेश ख मा बिमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतीमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खस आर्य महिलामा शोभा थापा, खस आर्य पुरुषमा नीराजन कुँवर र दया सागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहम्मद जलालदिन मियाको नाम सिफारिस भएको छ ।

जिल्ला संयोजक लालबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पारसमणि पौडेल, केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, विमल अधिकारी, देवेन्द्र पराजुली, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको उपस्थिति थियो ।

बैठकले जिम्मेवारी बाँडफाँड पनि गरेको छ । जिल्ला समन्वय समितिको सचिवमा रामचन्द्र पौडेललाई चयन गरेको छ । निर्वाचन परिचालन समन्वय समितिको प्रदेश क को इन्चार्जमा मधु अधिकारी गुरुङ, संयोजकमा नीराजन कुँवर तोकिएको छ । प्रदेश ख को इन्चार्जमा बुद्धिराम गुरुङ र संयोजकमा सुनिल सुनारलाई तोकिएको छ । कार्यालय सचिवको जिम्मेवारी हरिजङ तामाङलाई दिइएको छ ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।