• १६ वैशाख २०८१, आइतबार

लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि ८ जना महिला सिफारिस

blog

लमजुङ, भदौ २१ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ । प्रदेश सभा प्रत्यक्षतर्फ १ जना र समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ ।

नेपाली काङ्ग्रेसबाट ३ जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो । नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेश सभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।

नेपाली काङ्ग्रेसबाट समानुपातिक तर्फ कोपिला विक, तिरकाशी गुरुङ र कृष्णमाया विकको नाम सिफारिस भएको छ । नेपाल समाजवादी पार्टी लमजुङले प्रतिनिधि सभा समानुपातिकमा शोभा गिरीलाई सिफारिस गरेको छ । नेकपा एमाले, काँग्रेस, नेसपाबाट प्रदेश क र ख मा प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन । माओवादी केन्द्रबाट प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङको नाम सिफारिस भएको छ । प्रदेश सभा समानुपातिकमा नेकपा एमालेबाट ५ जना महिलाको नाम सिफारिस भएको छ । लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रबाट प्रदेश सभा समानुपातिकमा ३ जनाको नाम सिफारिस भएको छ । सतीमाया तामाङ, शोभा थापा, जुना विकको नाम सिफारिस भएको छ । नेपाली काँग्रेसले प्रदेश ‘क’ को समानुपातिकतर्फ ५ जना खुसीमाया (अस्मिता) गुरुङ, छुपी माया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ । प्रदेश ‘ख’ को समानुपातिकतर्फ ७ जना टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।
नेपाल समाजवादी पार्टी लमजुङले प्रदेश सभा समानुपातिक रेलकुमारी गुरुङलाई सिफारिस गरेको छ ।
Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।