ललितपुर, भदौ २१ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहँदा महिला अधिकारकर्मी भने दलहरूले महिला उम्मेदवारलाई बढी टिकट प्रदान गराउन पैरवी गर्दै छन् ।
उनीहरूले संविधानमा व्यवस्था गरिएको समावेशीको अवधारणा सही तरिकाले कार्यान्वयन हुन नसक्दा राजनीतिक दलहरूले त्यसको दुरुपयोग गरिरहेको पनि गुनासो गरेका छन्। समावेशीका नाउँमा राम्रालाई भन्दा हाम्रालाई अवसर दिने प्रवृत्ति परिवर्तन हुनुपर्ने उनीहरूको भनाइ छ।
संविधानमा व्यवस्था गरिएकै कारण राजनीतिक दलहरू ३३ प्रतिशत महिलालाई उम्मेदवारी दिन बाध्य भए पनि टिकट दिइएका महिला उम्मेदवारको जितका लागि भने आवश्यक सहयोग नहुने गरेको अधिकारकर्मी र स्वयं राजनीतिक दलसम्बद्ध महिलाले गुनासो गरेका छन्। साथै निर्वाचन अत्यन्तै महँगो हुँदै गएकाले पनि महिलाले प्रत्यक्षभन्दा समानुपातिकमै आफूलाई सुरक्षित गर्न खोज्ने गरेको पनि महिला राजनीतिकर्मीको भनाइ छ।
सङ्कल्प र महिला गैरसरकारी संस्था महासङ्घले ललितपुरमा सोमबार आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा सबैजसो राजनीतिक दलका नेताले यस पटक जिल्लाबाट तीन जनाको नाम सिफारिस गरेर पठाउँदा एक महिला अनिवार्य गरेको हुनुपर्ने र समानुपातिकमा पहिलेका उम्मेदवारलाई नदोहो-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी समावेशी चरित्रको भएकाले संविधानले व्यवस्था गरेअनुसारको महिलालाई अवसर दिने बताउनुभयो। अहिले नै कति–कति महिलालाई पार्टीले उम्मेदवार बनाउँछ भन्नेचाहिँ यकिन नभएको उहाँले बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेत्री सीता पौडेलले निर्वाचन अत्यन्तै प्रतिस्पर्धी र महँगो हुँदै गएकाले पनि महिलाहरू प्रत्यक्षमा भन्दा समानुपातिकमा आफूलाई सुरक्षित गर्न खोज्ने गरेको बताउनुभयो। जनता समाजवादी पार्टीकी नेत्री रेखा यादवले लामो समयसम्म राजनीतिमा सहभागी भएकाले पनि आरक्षण कोटा छोड्न नचाहँदा नयाँले अवसर नपाएको बताउनुभयो। महिलाले पनि आफूलाई प्रत्यक्षको उम्मेदवार बनाउनुभन्दा जता लाग्दा समानुपातिकमा परिन्छ, त्यही पार्टीमा प्रवेश गर्ने प्रवृत्ति बढिरहेको उहाँले बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टीका नेता झक्कुप्रसाद सुवेदीले पार्टीको तल्लो तहदेखि नै महिलाको सहभागिता बढेमा मात्र सङ्घ र प्रदेशमा पनि उम्मेदवारी बढाउन सहज हुने धारणा व्यक्त गर्नुभयो।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले सबै दलमा कुन–कुन स्थानमा महिलालाई मात्र उम्मेदवार बनाउने हो भन्ने समझदारी बन्न सकेमात्र महिला प्रत्यक्ष निर्वाचनमा सहभागी हुन उत्साहित हुन सक्ने बताउनुभयो।
नेकपा एकृकीत समाजवादीका नेता प्रकाश ज्वालाले आफ्नो पार्टी पहिलो पटक सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुँदै गर्दा महिलाको उम्मेदवारीका विषयमा पनि पार्टीभित्र छलफल भइरहेको र केही महिला नेत्री आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा पनि लागिसकेको दाबी गर्नुभयो।