• ११ मंसिर २०८१, मङ्गलबार

प्रत्यक्षमा महिला उम्मेदवारीको माग

blog

काठमाडौँ, भदौ १८ गते । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग गरिएको छ ।

दलित महिला केन्द्र नेपाल र माण्डवीद्वारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारीबारे राजनीतिक दलसँगको अन्तक्र्रियामा यस्तो माग गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अमृता थापाले प्रत्यक्षमै समानुपातिक उम्मेदवारीको व्यवस्थामा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी)का सचिव नागेन्द्र चौधरीले प्रत्यक्षमा नजिते पनि समानुपातिक मिलाएर महिला ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टीका सचेतक प्रमोद साहले आरक्षणका नाममा एउटै व्यक्तिले पटक–पटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाउनुभयो । नेकपा (एमाले)का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णा यादवले प्रत्यक्षतर्फ पनि महिला सहभागिता हुनुपर्ने बताउँदै दलहरूले यसतर्फ विचार गर्नुपर्ने बताउनुभयो । माण्डवीका महासचिव अञ्जु झाले विचार, सामाजिक मूल्यमान्यता र आर्थिक विषयले महिलालाई राजनीतिक नेतृत्वमा आउन बाधा भइरहेको बताउँदै समानताभित्र समता कायम गर्न दलहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।