गजेन्द्र गुरुङ
खजुरा, चैत २७ गते । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका फैसला तथा आदेशहरूको प्रभावकारी कार्यान्वयन गर्दै फैसला कार्यान्वयनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।
नयाँवर्ष २०८३ को पूर्वसन्ध्यामा सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगन्जद्वारा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मुसलमानले न्यायिक निर्णयहरूको कार्यान्वयन न्यायको वास्तविक प्रत्याभूति भएको उल्लेख गर्दै उच्च अदालतले फैसला कार्यान्वयनका लागि अधिकृत तोकी कार्य अघि बढाएको विषयलाई सकारात्मक पहलका रूपमा लिँदै यसले न्यायिक उत्तरदायित्वलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
न्यायाधीश मुसलमानले द्वन्द्वकालदेखि नै नेपालगन्जमा नागरिक समाजसँग सहकार्य गर्दै सार्वजनिक सरोकारका विषयमा आफू संलग्न रहेको स्मरण गर्दै यस्ता विषयमा समूहले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले न्यायपालिका न्यायको अन्तिम आश्रयस्थल भएको उल्लेख गर्दै संविधान र कानुनी मूल्यमान्यताप्रति प्रतिबद्ध, सक्षम र सुदृढ संस्थाको रूपमा यसको विकास आवश्यक रहेको धारणा राख्नुभयो ।
सामाजिक सञ्जालमार्फत न्यायालय र न्यायाधीशप्रति हुने अवाञ्छित टिप्पणी नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अदालती निर्णय कार्यान्वयन सुनिश्चित गर्ने प्रणालीगत सुधार अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका आदेशहरूको कार्यान्वयन अवस्थाबारे अनुसन्धान आवश्यक रहेको बताउनुभयो । उहाँले उच्च अदालतले फैसला कार्यान्वयनमा सहयोग पु¥याउन एक अधिकृत तोकेको जानकारी दिँदै ध्वनि प्रदूषण, यातायात क्षेत्रको अव्यवस्था लगायतका विषयमा भएका आदेशहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले सार्वजनिक सरोकारका मुद्दाको उठान तथा वकालतको अभ्यास नेपालगन्जमा काठमाडौँपछि दोस्रो स्थानमा रहेको उल्लेख गर्दै यस्ता मुद्दा पक्ष–विपक्षभन्दा माथि उठेर सबैको साझा सरोकारको विषय भएको बताउनुभयो । उहाँले न्याय क्षेत्रसँग सम्बन्धित निकायहरूबिच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
समूहका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह र अधिवक्ता बसन्त गौतमले न्यायाधीश मुसलमानलाई फूलमाला तथा खादाले स्वागत गर्नुभएको थियो ।
समूहका अध्यक्ष वरिष्ठ अधिवक्ता श्रेष्ठको अध्यक्षता तथा सचिव अधिवक्ता विकास आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, बाँके जिल्ला बारका अध्यक्ष मेहरसिंह खत्री तथा नेपालगन्ज उच्च बारका अध्यक्ष पवनकुमार गुप्तालगायत वक्ताहरूले समूहले सार्वजनिक सरोकारका क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै नयाँवर्षले न्याय क्षेत्रमा सुधार तथा गुणस्तरीय सेवाको अपेक्षा व्यक्त गर्नुभयो ।
मानवअधिकार, कानुनी शासन, दण्डहीनता र सामाजिक न्यायका सवालमा वकालत तथा पैरवी गर्दै आएको उक्त समूह मानव अधिकारवादी कानुन व्यवसायीहरूको सक्रियतामा स्थापना भएको हो । समूहले यसअघि सार्वजनिक सरोकारका मुद्दामा उच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको सङ्ग्रह (२०८०) समेत प्रकाशन गरिसकेको सहसंयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।