काठमाडौं, वैशाख ३० गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ। अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।उहाँले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्नुभएको छ। अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गर्नुभएको छ। स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदाताहरुलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ। “त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। उहाँले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ।रासस
हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ।
भोटराज राईउदयपुर, वैशाख ३०। उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका मनकुमारको खुट्टामा गोली लागेको हो। कालिका माध्यामि विद्यालय केन्द्रमा विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड गोली चलाएको थियो। स्थानीयका अनुसार नवीनको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रौतहट जिल्लाको केही स्थानमा विवाद तथा छिटपुट घटनासहित अधिकांश ठाउँमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ।
काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएको बताउनु भएको छ।
शुक्रबार देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।
मीना कंडेलकावासोती, वैशाख ३० गते। पूर्वी नवलपरासी कावासोती नगरपालिकामा ८ की १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कावासोती वडा नम्बर ८ की भागीरथी पराजुलीले ज्ञानोदय मावि केन्द्रबाट शुक्रबार मतदान गर्नुभएको हो।उहाँका नातीले ह्विलचियरमा राखेर भोट खसाल्न मतदान केन्द्रमा ल्याउनु भएको थियो। २०१५ सालको आम निर्वाचनदेखि उहाँले मत हाल्नुभएको हो। त्यतिबेला गुल्मीबाट मतदान गरेको उहाँका नातीले जानकारी दिनुभयो।नवलपुर जिल्लाका १३३ स्थानमा २९९ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो।अधिकारीले पानी परेका कारण केही समय मतदान रोकिएको भए पनि पुन सुचारु भएको र कुनै पनि स्थानमा मतदान नरोकिएको र अवरोध नभएको जानकारी दिनुभयो। सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदाताको सहभागी भएको उहाँले बताउनुभयो।जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको र कही कतै पनि कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। आठवटा स्थानीय तहका ९२ वटा वडा रहेको नवलपुरमा पुरुष एक लाख २१ हजार ३८ र एक लाख ३३ हजार पाँच सय ७३ महिला मतदाता छन्।
रुकुम पश्चिम, वैशाख ३० गते। रुकुम पश्चिममा गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा घाइते भएका एक वृद्धको ज्यान गएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ६२ वर्षका पर्जे खत्रीको उपचारका क्रममा ज्यान शुक्रबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट ७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारवाङमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका जनककुमार बाँठाले निर्वाचनको लागि अनुमति लिएको गाडीले ठक्कर दिएको हो। मतदानको दिन सबै मतदान केन्द्रमा पुग्ने क्रममा बाँठा त्यहाँ पुगेको बेला माओवादी केन्द्रका कार्यकर्ताले हुलदंगा गर्न खोजेपछि गाडि फर्काउने क्रममा खत्रीलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएका खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र उपचारको क्रममा ज्यान गएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक बिमला केसीले जानकारी दिनुभयो।
काठमाडौं, वैशाख ३० गते । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि मतदान गर्दै आफ्नो मत देशको स्थायित्व र स्थिरताका लागि भएको बताएका छन् । विभिन्न मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै कलाकारहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । हाँस्य कलाकार मनोज गजुरेलले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै लेख्नुभएको छ, “हाम्रो भोट स्थानीय स्थायित्व र स्थिरताका लागि हो । हाम्रा जनप्रतिनिधि सेवक बनुन्, शासक नबनुन्”। वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि बुढानीलकण्ठबाट मतदान गर्नुभएको हो । आचार्यले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेख्नुभएको छ, “मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?”अभिनेत्री करिश्मा मानन्धरले पनि शीतल निवास अगाडि रहेको केन्द«मा मतदान गर्नुभएको छ । मतदान गर्न उहाँ श्रीमान विनोद र छोरी कवितासँगै केन्द्रमा पुग्नुभएको हो ।यस्तै, कलाकार सरिता लामिछानेले आफूले मतदान गर्नुभएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मतदान गरेको जानकारी गराउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “मतदान मेरो अधिकार हो ।” साथै नायिका सञ्चिता लुईटेलले पनि बत्तिस पुतलीमा रहेको केन्द्रबाट मतदान गर्नुभएको जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तोकेको मतदानको समय सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो।
शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन भएको छ। मतदाताको उपस्थिति उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ।
सिन्धुली जिल्लाका सबै मतदान केन्द्रमा स्थानीय तह निर्वाचनअन्तर्गतको मतदान उत्साहपूवर्क सम्पन्न भएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मीपुमा १११ वर्षीय ज्येष्ठ विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकारीले मतदान गर्नुभएको हो ।