• ९ मंसिर २०८१, आइतबार

कटुवाल प्रथाको सञ्चार

blog

संस्थाले खटाएअनुसार वा सामाजिक, सांस्कृतिक वा प्रशासनिक आधिकारिकता भएको व्यक्तिले अह्राएअनुसार सार्वजनिक स्थलमा सूचनाको सार्वजनिक सम्प्रेषण गर्ने व्यक्तिलाई नेपाली परम्परागत समाजमा कटुवाल भनिएको पाइन्छ । त्योसँग सम्बद्ध प्रथालाई कटुवाल प्रथा भनिन्छ । नेपालमा भौगोलिक तथा भूसांस्कृतिक क्षेत्रअनुसार कटुवाल प्रथाको विभिन्न स्वरूप रहेको भए पनि सूचनाको सार्वजनिक उद्घोषण (घोक हाल्ने) जिम्मेवारी कटुवालको साझा विशेषता रहेको छ । कुनै बेला धेरै रहेको कटुवालहरूको सङ्ख्या हाल ज्यादै कम भइसकेको भए पनि नेपालमा कटुवाल प्रथा अद्यापि अस्तित्वमा छ । अति प्राचीनकालमा तत्कालीन समाजको विशेष आवश्यकताअनुसार प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा पनि हालसम्म जीवितै रहनु आश्चर्यको विषय नहोला, तर अनुसन्धानयोग्य सवाल अवश्यै हो । 

कटुवाल प्रथाको अस्तित्व कहिलेसम्म रहला वा कटुवाल प्रथाले वर्तमान युग र भविष्यमा बजारसँग सहकार्य गरी आफ्नो अस्तित्व जोगाउन सक्ला वा बजारसँँगको सङ्घर्षमा परास्त भई इतिहासका पानामा मात्रै सीमित रहला भन्ने सवालमा अध्येताहरूका अलग–अलग प्रकारका आकलन छन् । शक्ति संरचना र अर्थराजनीतिसँग जटिल तरिकाले गुजुल्टिएका छन् कटुवाल प्रथाको विगत, वर्तमान र आगत पनि । वास्तवमा कटुवाल प्रथाको ऐतिहासिक अनुसन्धानले सभ्यताका अनेकौँ आयामलाई उजागर गर्न सक्छ । 

कटुवाल प्रथा मानव समाजको त्यो प्राचीन समयबाट सुरु भएको देखिन्छ, जब मानवले सूचना सम्प्रेषणको महŒव बुझिसकेको त थियो तर सूचना सम्प्रेषणका लागि सञ्चार प्रविधिको विकास भने भइसकेको थिएन । सूचना सम्प्रेषणका लागि व्यक्तिविशेषलाई जिम्मेवार बनाउने र सो जिम्मेवारी पूरा गरेको पारिश्रमिक स्वरूप वार्षिक रूपमा बाली (अन्न) दिने गरी यो सुरु भएको देखिन्छ । लुगा सिलाउने, भाँडा बनाउने वा अन्य अत्यावश्यक कार्यका लागि जसरी पद्धति बसालिएको थियो, कटुवाल प्रथाको पनि सोहीअनुसारकै सामाजिक संरचना रहेको छ । कटुवाल प्रथाको इतिहासलाई वर्तमानकालको दृष्टिबिन्दुबाट विनिर्माणको निशाना बनाएर विश्लेषण गर्ने वा तत्कालीन देश–काल–परिस्थितिका सापेक्षतामा वस्तुनिष्ठ पर्यवेक्षण गर्ने भन्नेमा मतैक्य छैन । किनभने अलग–अलग मताग्रह (आइडियोलोजी)ले अलग–अलग पठन दृष्टिकोण र अलग–अलग विश्लेषणको आग्रह राख्छन् । यसरी हेर्दा कटुवाल प्रथाको अनुसन्धानमा मौलिक दृष्टिकोणको खाँचो देखिन्छ ।

कटुवाल प्रथाको इतिहासको अन्वेषण केवल अभिलेखको इतिहास हेरेर पूरा हुन सक्दैन । शताब्दीयौँ वा सम्भवतः सहस्राब्दीयौँ पुरानो प्रथाको इतिहासमा अलिखित एवं अनभिलेखित भाग नै अधिक हुन्छ । समाजको सञ्चार आवश्यकतालाई सामाजिक शक्तिसंरचनासँग तारतम्य मिलाउन कति समय लागेको हुँदो हो र कस्ता–कस्ता परिघटना घटित भएका हुँदा हुन् भन्ने आकलन गर्नका लागि तथ्यहरू उपलब्ध छैनन् । सूचनाका संवाहक भए पनि सामाजिक र आर्थिक हैसियतमा कटुवालहरू किन शक्तिसोपानको पुछारमै रहे भन्ने सवाल विवेच्य छ । अर्कोतिर सूचनाका संवाहक भएका कारणले समाजका जुनसुकै तह, तप्का, वर्ग, वर्ण, जाति वा जातसम्म कटुवालको निर्बाध पहुँच हुने तथ्य पनि उत्तिकै अध्येय छ । यसरी कटुवाल प्रथालाई पर्याप्त विश्लेषण गर्न सञ्चारशास्त्र र समाजशास्त्रको सहकार्य चाहिन्छ भन्नु समीचीन ठहर्छ ।

समाजका लागि अत्यावश्यक सबै कर्म वा क्रियाकलापलाई सामाजिक एवं सांस्कृतिक संस्थानीकरणको अवयव नै बनाउने त्यो युगको पद्धतिअनुसार नै कटुवाल प्रथा पनि चलेको थियो । संस्थानीकरणमा कुनै पनि कार्य गर्ने व्यक्ति वा समूह (वा हाम्रो जस्तो समाजमा निश्चित जात पनि हुन सक्ने) को सामाजिक सोपान र पारिश्रमिकको स्रोत कस्तो हुने भन्ने महŒवपूर्ण रहन्छ । कटुवाल कस्तो भूमिकामा थिए भन्ने विश्लेषण गर्दा यी पाटा पनि विचार गर्नुपर्छ । बालीघरे प्रथाबारे अन्य सन्दर्भमा भएका विभिन्न अध्ययनका निष्कर्ष यो सन्दर्भमा विश्लेषण गर्न पनि उपयोगी हुन्छन् । 

सामाजिक सोपानको कुरा गर्दा कटुवालहरू समाजको माथिल्लो श्रेणीका मानिस थिएनन् । हालसम्मको अनुसन्धानमा नेपालमा प्राचीन समयमा पुरोहित तथा राजन्य वर्गका व्यक्तिहरूले कटुवालको जिम्मेवारी लिएको सामान्यतया देखिएन । अपवाद भेटिन सक्छ । कटुवालको जिम्मेवारी तत्कालीन समाजको संरचनामा सर्वोच्च मानिएको वर्ण वा वर्ग वा जातलाई किन दिइएन भन्ने तथ्य बुझ्न कटुवाल प्रथा प्रारम्भ हुने समयमा तत्कालीन समाजको शक्ति संरचनालाई विचार गर्नुपर्ने हुन्छ । कटुवालको आवश्यकता तत्कालीन समाजमा सूचना वा ज्ञानका उत्पादकका रूपमा नभई सन्देश संवाहक वा माध्यमको भूमिका पूरा गर्न प्रारम्भ भएको देखिन्छ । तत्कालीन सामाजिक संरचनाअनुसार सूचना वा ज्ञान उत्पादन कार्य त पहिल्यै एउटा निश्चित वर्ण वा वर्ग वा जातको मुख्य जिम्मेवारीका रूपमा निश्चित भइसकेको थियो । 

सार्वजनिक उपदेशक, प्रेरक वक्ता, व्याख्याता आदिको जिम्मेवारी पनि समाजमा तय भइसकेपछिको समयमा कटुवाल प्रथा सुरु भएजस्तो देखिन्छ । कटुवाल प्रथाको विश्लेषण गर्दा दैनन्दिन समाज व्यवहार वा राजकीय सूचना सम्प्रेषणका लागि आवश्यक परेको सन्देश संवाहक भूमिकाका लागि मात्र कटुवाल चाहिएको थियो भन्ने देखिन्छ । त्यसैले ती आजको सञ्चार सिद्धान्तका परिप्रेक्ष्यमा ‘वैचारिक नेता’ भनिनेजस्तो भूमिकामा थिएनन् । सामाजिक सोपानमा माथिल्लो तहमा रहेका व्यक्ति वा संस्थाको आदेशमा निश्चित सूचनाको सम्प्रेषण मात्र उनीहरूको जिम्मेवारी थियो । 

कटुवालहरू सार्वजनिक सञ्चारक हुन् । अन्तरव्यक्ति सञ्चार हुँदै नहुने त होइन, तर कटुवालको प्राथमिक जिम्मेवारी कुनै सुविधाजनक स्थानबाट मानिसको ध्यानाकर्षण गर्दै चर्को स्वरमा सूचना सुनाइदिनु थियो । ध्यानाकर्षण गर्नका लागि बाजा बजाउने जस्ता क्रियाकलाप प्रभावकारी हुने हुनाले समाजमा बाजा बजाउने जिम्मेवारी जुन समुदाय वा जातलाई थियो, सोही समुदाय वा जातको व्यक्ति नै कटुवाल तोकिने बढी सम्भावना रहन्थ्यो । चर्को स्वरमा कराउन सक्ने, लामो दूरी वा उकालो–ओरालो यात्रा गर्न सक्ने जस्ता विशेषता पनि अवश्यै वाञ्छनीय थिए ।

परम्परागत समाजमा कटुवालको पारिश्रमिक पनि विभिन्न शिल्पी समुदाय वा जातकै जस्तो बालीघरे प्रथाबाट दिइने गरेको थियो । त्यस बेलाको सामाजिक संस्थानीकरणमा बालीघरे प्रथाले विभिन्न वर्ण वा वर्ग वा जातलाई अन्तरसम्बद्ध बनाउँथ्यो र संस्थापन पक्षका अभीष्टअनुसार सामाजिक संरचनामा स्थिरताका लागि यो पनि एक औजार थियो । यो कोणबाट हेर्दा पनि कटुवाल भनेको सेवक वा सहायक भूमिका मात्र थियो । सञ्चार प्रक्रियामा प्रयुक्त च्यानल वा मिडियालाई गौण मान्ने र सामाजिक आर्थिक संरचना प्रधान मान्ने दृष्टिकोणसँग मिल्दोजुल्दो परिस्थिति कटुवाल प्रथाको प्रारम्भमा पनि देखिन्छ । समयक्रममा राज्यको संरचना बलियो बन्दै जाँदा कटुवालको पारिश्रमिक पनि राज्यका अन्य कर्मचारीको जस्तै जमिनमा अधिकार (बिर्ता) हुने समय पनि आयो । कालान्तरमा कटुवालले पनि नगद नै तलब पाउने भए । अर्थोपार्जनका कसीमा बलियो हुने अवस्थामा सामाजिक सोपानमा माथिल्लो श्रेणीमा रहेका वर्ण वा जातका मानिसले पनि कटुवाल जागिर खाएको देखिन्छ । 

जुन समयमा कटुवाल प्रथा प्रारम्भ भयो, त्यो समयमा समाजमा अरू पनि सूचना सञ्चारका कर्ताहरू थिए र एउटा विशेष जिम्मेवारीका लागि कटुवाल संयन्त्र चाहिएको थियो । सामाजिक, सांस्कृतिक तथा राजनीतिक सञ्चार प्रणालीका अनेक अवयव थिए । तीमध्ये एउटा अवयव कटुवाल थिए । धर्मोपदेश, नैतिक प्रेरणा, राजनीतिक वा प्रशासनिक घोषणा आदिका लागि सामाजिक सोपानका माथिल्लो तहमा रहेका व्यक्ति, समूह वा जातलाई अधिकार प्राप्त रहेको देखिन्छ तर उनीहरूको सामाजिक सोपानले सर्वसाधारण लोक (जनता)सम्म पुगेर, धेरै जनाले सुन्ने गरी, बाजा बजाउँदै तथा चिच्च्याइ–चिच्च्याइ सूचना फैलाउन वाञ्छनीय नमानेपछि उपर्युक्त कार्यका लागि कटुवाल चाहिएको थियो होला ।

त्यो बेलामा कटुवाल भूमिका पाउने व्यक्तिका लागि उक्त भूमिकाले सार्वजनिक पहुँच, परिचय र उपार्जनको दायरा बढाएको हुनाले यसलाई सामाजिक सोपानमा उन्नतिको द्योतक मानिएको थियो भन्दा यथार्थपरक विश्लेषण नै हुन्छ । त्यो उन्नतिको दायरा सीमित मात्रै थियो होला भन्ठान्नुपर्ने अनेक कारण छन् । सञ्चार उपयोगिताका मानकमा सफल ठहरिएकाले कटुवालहरूको सामाजिक सम्मान पक्कै अभिवृद्धि भयो भन्न सकिन्छ । यद्यपि सामाजिक उपयोगितामा सफल बन्नाले उनीहरूका आजीविकामा ठोस सकारात्मक प्रभाव परेको वा तत्कालीन समाजमा अनेक कारणले हुने विभेद, उत्पीडन, अन्यायबाट उनीहरूले उन्मुक्ति पाएका थिए भन्ने ठोकुवा गर्ने आधार भने देखिँदैन ।

कटुवाल प्रभावकारी एवं सफल सञ्चारक मानिएका थिए भन्न सकिने मुख्य आधार पुस्तौँपुस्तासम्म यो प्रथालाई समाजमा स्थान मिलिरहनुबाट मिल्छ । समाजका लागि उपयोगी नठहरिएका भए उनीहरूको सामाजिक अस्तित्व कायम रहने थिएन । कटुवालहरू आफ्नो र निकटवर्ती समुदायकै लागि कार्यरत रहने एवं समान भाषा, संस्कृति एवं धर्मका अनुयायी हुने जस्ता कारणले समान सञ्चारीय वातावरण रहनु र अपसञ्चारको सम्भाव्यता कम हुनु स्वाभाविक हो । 

सामाजिक, सांस्कृतिक वा प्रशासनिक आधिकारिकता भएको व्यक्तिले अह्राएअनुसार सूचनाको सार्वजनिक सम्प्रेषण गर्नु कटुवालको मुख्य जिम्मेवारी थियो । कटुवाल प्रथा तत्कालीन समाजमा समाजको आवश्यकताअनुसार संस्थानीकरण भएको थियो । कटुवाल प्रथा नभएको भए अर्को कुनै संयन्त्र समाजले बनाउने थियो, राज्यले बनाउने थियो । तसर्थ कटुवालको के कस्तो योगदान रह्यो भन्ने कुरा विश्लेषणका लागि समीचीन हो, तर कटुवाल नभएको भए सूचना सञ्चार नै हुने थिएन भन्नु समीचीन होइन । यो प्रथाबाट नभएको भए अर्को कुनै पद्धति समाजले विकास गर्ने थियो । आवश्यकताले आविष्कारलाई डो-याउने तथ्य यहाँ पनि लागू हुन्छ । 

डिजिटल मिडियामा पहुँच, प्रविधिजन्य सामाजिक सञ्जाल (सोसल नेटवर्किङ)मा सहभागिता, व्यावसायिक र अव्यावसायिक दुवै प्रकारका सञ्चारमा अन्तक्र्रियात्मकताको वृद्धि आदि कारणले कटुवाल प्रथालाई पक्कै असर पार्छ र पारेकै छ । समाजलाई बजारले जित्दै जाँदा सञ्चार आवश्यकताको स्वरूप फेरिएको र कटुवाल प्रथाले अस्तित्त्व बचाउन कठिन हुँदै गएको धरातलीय यथार्थ पनि विवेच्य छ । सञ्चारीय परिदृश्य, समाजको सञ्चार आवश्यकता, मिडियाको वैविध्य, सङ्केन्द्रन र पहुँचमा वृद्धि, सामाजिक शक्तिसंरचनामा परिवर्तन तथा बजार अर्थतन्त्रको भूमिका आदि आयाममा भइरहेका परिवर्तनले कटुवाल प्रथाको भविष्यलाई कसरी निर्धारित गर्ने हो भन्ने सवाल सञ्चारशास्त्र र समाजशास्त्र दुवैका लागि उपयोगी अनुसन्धान प्रश्न हो ।


Author

डा. निर्मलमणि अधिकारी