• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्री मोदीको भ्रमण

बहुआयामिक विषयमा छलफल हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा आगामी जेठ २ गते हुने भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने भएको छ । 

भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायका विषयमा दुई देशका प्रधानमन्त्रीबीच गहन छलफल हुने जानकारी दिइएको हो । भ्रमण एक दिने रहने भए पनि दुई देशका बहुआयामिक विषयमा दुई प्रधानमन्त्रीले मन्थन गर्नुहुने मन्त्रालयले उल्लेख गरेको छ । 

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले दुई देशका प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमण यसरी छिटो हुनु नै निकट सम्बन्धको प्रतीक रहेको बताउनुभयो । उहाँका अनुसार नेपाल–भारतबीच जलविद्युत् ऊर्जा व्यापारको दिगो र ठूलो व्यापारको क्षेत्र छ । नेपालमा भारतले लगानी गरेको होस् वा अरू देशले लगानी गरेको होस् व्यापक क्षेत्रमा मौलाएको छ ।

सोही कारण भारतले नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा आफ्नो लगानीलाई बढावा दिने विषयमा विगतका समयदेखि नै पहल जारी राखेको छ । उहाँका अनुसार कनेक्टिभिटी, सडक सञ्जाल, रेल्वे, पर्यटन विस्तार यातायातलगायतका विषयमा पनि दुई देशका उच्च नेतृत्वबीच छलफल हुनेछ ।

सीमा विवादका विषयमा भने छलफल हुने वा नहुने उहाँले स्पष्ट पार्नुभएन । ती विषय वार्ताकै क्रममा रहेकाले सोहीअनुसार हुने जनाउ दिनुभयो । नेपाल र भारतबीच धार्मिक कूटनीतिक सम्बन्धलाई बलियो बनाउन नेपाल–भारत बुद्ध सर्किट, रामायण सर्किटमार्फत दुई देशमा पर्यटकीय गतिविधिलाई बढाउने पहल थालिएको छ । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएको साल १९४७ देखि नै नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 

दुई देशबीच कूटनीतिक सम्बन्धलाई बढावा दिन राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धका साथै क्षेत्रीय सम्बन्धका रूपमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्कको अबद्धता छ । दुई देशको सम्बन्ध विभिन्न समयमा भएको सन्धि सम्झौताभन्दा धेरै माथि रहेको मन्त्रालयले जनाएको छ ।