• १५ असार २०८१, शनिबार

सामाजिक सञ्जालको बोझ

blog

सामाजिक सञ्जालले संसारलाई एउटै घर र संसारका मानिसलाई एकै परिवारका सदस्यजस्तो बनाएको छ । संसारका फरक–फरक, रमाइला–रमाइला, अनौठा–अनौठा परम्परा, रीतिरिवाज, चालचलन, कला, संस्कृति, संस्कारबारे जानकारी लिन, बुझ्न, सिक्न सजिलो भएको छ । विश्वको जुनसुकै स्थानबाट ज्ञान आदानप्रदान गर्न सकिएको छ । सामाजिक सञ्जाल कतिपयको सारथि बनेको छ । दूरदराजमा लुकेका प्रतिभा प्रस्फुटित हुन पाएका छन् । जिन्दगीभरि गुमनाम भएका हजुरबा, हजुरआमा, बाआमा आफ्नो जीवनको उत्तराद्र्धतिर आएर ‘भाइरल’ भएका देखिन्छन् ।

अपाङ्गता भएका, कुनै न कुनै रूपमा असक्त व्यक्ति, स–साना बाबुनानी सामाजिक सञ्जालका माध्यमबाट लोकप्रिय हुन पाएका छन् । यो उनीहरूको प्रतिभा उजागर गर्ने प्रभावकारी ‘प्लेटफर्म’ बनेको छ । पिर, चिन्तामा परेका, ‘डिप्रेसन’मा पुगेका व्यक्तिसमेत यसमा रमाउन पाउँदा क्षणिक समय भए पनि खुसी हुन सकेका छन् । श्रम गर्दा–गर्दा थकित श्रमिक, मजदुरलाई एकछिन भए पनि थकाइ मार्ने साथी बनेको छ सामाजिक सञ्जाल । एक ठाउँको सूचना क्षणभरमै सबैलाई जानकारी भएको छ । व्यक्तिगत सूचनाको समेत जानकारी गराउन सहज भएको छ । वर्षौंवर्षसम्म हराएका साथीलाई यही सामाजिक सञ्जालले भेटाइदिएको छ । यस्तै–यस्तै अति सकारात्मक पक्ष छन् सबै सामाजिक सञ्जालका । 

अर्काे कोणबाट हेर्दा सामाजिक सञ्जालले समाजमा बोझ थपेको छ । राजनीतिक नेता, मन्त्री, सांसद्, उच्च पदस्थ प्रशासकदेखि सर्वसाधारण मानिस यसैमा भुलिरहेका हुन्छन् । राजनीतिक पार्टीका बडेबडे नेता, मन्त्रीदेखि सामान्य मानिसले समेत हल्काभन्दा हल्का विषयवस्तु हालेर सामाजिक सञ्जालमै समय खेर फालिरहेको देखिन्छ । मानिस रमाउँदारमाउँदै उत्पादनशील कार्यमा भन्दा सामाजिक सञ्जालमा नै समय गएको पत्तो नपाउने हुन थालेका छन् ।

विश्वलाई एउटै घर र परिवारजस्तै बनाए पनि एकैघरका सदस्यलाई भने पर–पर पु-याएको छ किनकि मानिस सामाजिक सञ्जालमा एक्लाएक्लै भुल्न थालेपछि परिवारका सदस्यबीचमा प्रत्यक्ष र भौतिक रूपमा सरसल्लाह, भलाकुसारी हुन कम भएको छ । आत्मीय गफ, सरसल्लाहभन्दा परिवारभित्रै एउटा एकातिर अर्काे अर्कातिर मोबाइलमा च्याट गर्न रमाउने प्रवृत्ति मौलाउँदै जाँदा परिवार नै भाँडिएको छ । 

चिन्तन–मनन र अन्य सिर्जनशील कार्यमा भन्दा यसमा बढी समय दिँदा मानिस मानिससँग होइन मेसिनसँग रमाएको जस्तो देखिएको छ । सबैभन्दा बढी तनाव र बोझ बालबालिकालाई भएको छ । यसले बालबालिकालाई बढी ‘क्रेजी’ बनाएको छ । बालबालिका जति बेला पनि मोबाइलमा झुम्मिने, नदिए रिसाउने, खानसमेत नमान्ने भएका छन् । 

टिकटकमा कला र गला प्रदर्शन गर्न वा फेसबुकमार्फत केही प्रचारप्रसार गर्न डाटा नै खोल्न परेपछि दूरदराजका गाउँँगाउँका जनतामा आर्थिक बोझ थपिएको छ । डाटा चलाउँदा व्यक्तिगत घाटा मात्र भएको छैन, सिङ्गो राष्ट्रको राजस्व विदेशिइरहेको छ । यसरी एकातिर आर्थिक बोझ थपिएको छ भने अर्कातिर कुनै दिन सामाजिक सञ्जाल नै बन्द भएमा मानिसमा  निराशा छाउने हो कि भन्ने चिन्ता बढेको छ । 

समाज कस्तो भइसकेको छ भने सामाजिक सञ्जालमा नक्कलझक्कल नपार्ने व्यक्तिलाई पाखे, असभ्य, एकाङ्कीजस्तो आरोप लाग्न थालेको छ । आर्थिक अवस्था सबल भए पनि, नभए पनि जबर्जस्ती किनेर, खोजेर तडकभडक देखाउनैपर्ने बाध्यता आइलागेको छ । कुनै चाडपर्व, सभा, समारोह, कार्यक्रमका तस्बिर, भिडियो अपलोड नगर्ने, त्यसमा लाइक, कमेन्ट, प्रतिकमेन्ट नगर्ने, शुभयात्रा, शुभकामना, बधाई नभन्ने व्यक्ति ‘सोसाइटी’मा नै नपर्ने डर बढ्दै गएको छ । यो पनि मानिसमा आइपरेको अनावश्यक झन्झट हो । जस्तो कि कसैको जन्मदिनमा ‘विस’ गर्नैपर्ने, शुभकामना दिनैपर्ने बोझ ।

यसो नगरे तिरस्कृत भइने डर । साथीहरूले ‘अनफ्रेन्ड’, ‘ब्लक’को धम्की दिइरहने कस्ता–कस्ता चिन्ता ! जेसुकैको होस्, जहाँसुकैको होस्, तस्बिर खिचेर राख्नैपर्ने, नराखे हराइने ।  कामना, शुभकामना, बधाई नदिए साथीभाइ, आफन्त रिसाउलान् भन्ने पिरलो । त्योभन्दा पनि बढी चिन्ता राजनीतिक पार्टीका कार्यकर्तालाई । एक किसिमले भनौँ भने सामाजिक सञ्जालबाट चाकडी नै मौलाइरहेको छ । नेताको जन्मदिनमा ‘विस’ नगरे, बधाई नदिए, राम्रो भनेर स्टाटस नराखे कार्यकर्ताले जिम्मेवारी, अवसर नै नपाउने सम्भावना । समाजका विविध क्षेत्रमा आफूभन्दा ठूलाको प्रशंसा नगरिदिए कर्केनजरमा पर्न सक्ने । हाकिमको चाकडी गरेर ‘पोस्ट’ नगरे मूल्याङ्कनमा तल पर्ला वा बहिष्करणमा पो पारिएलाजस्तो । 

समाजमा भए÷गरेका पार्टीगत, संस्थागत, व्यक्तिगत कार्यको प्रचारप्रसार गर्न सामाजिक सञ्जाल नै प्रयोग गर्नैपर्ने बाध्यता छ । कसैको बिहे, व्रतबन्ध, पूजाआजा, पास्नी, गुन्यूचोलो, पुरस्कार वितरण, सम्मान पाएको, घुमेको आदिको तस्बिर नराख्ने मान्छे पाखे हुने, समाजभित्रै नपर्ने, निष्क्रिय भएको जस्तो हुने, समाजमा उसले कुनै योगदान नै नगरेको जस्तो ठहरिने, मानिसले त्यसरी नै चर्चित भएकालाई राम्रो र हाम्रो ठान्ने, समाज उसैको पछि लाग्ने स्थिति देखिएको छ । आजभोलि कुनै व्यापार, व्यवसाय, प्रगति मात्रै गरेर हुँदैन अब त्यसलाई सामाजिक सञ्जालबाट प्रचारप्रसार नगरे त्यो व्यापार, व्यवसाय, प्रगति नै नटिक्ने हुन थालेको छ ।

राजनीतिक दलले सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसार नगरे उसले कम मत पाउने देखिएको छ भने यसले गर्दा स्वदेशी पैसा विदेशी खातामा थुप्रिरहेको छ । समाजमा जन्मेका प्रतिभाले सामाजिक सञ्जाल प्रयोग गरेन भने समाजमै हराउने स्थिति देखिएको छ । आ–आफ्ना साथीभाइ, गुट, जँड्याहा टिमले वाह ! वाह ! नभनिदिए चर्चित नै नबनिने अवस्था छ । यतिसम्म कि एकैघरका श्रीमान्–श्रीमतीले पनि किन सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना बाँड्नुपरेको हो बुझ्न सकिएको छैन । किन हो कुन्नि लोग्ने–स्वास्नीको प्यार सामाजिक सञ्जालको भित्तोमा पोख्न रुचाउँछन् मानिस । 

त्यो प्यार भित्तोमा  खन्याएर अझै बढ्ने हो कि अरू मानिसलाई खिस्याएको हो बुझ्नै सकिँदैन । सायद अरूलाई देखाउनै त होला– हेर तिम्रोभन्दा हाम्रो प्रेम कति गाढा भनेर । यस्तै कतिपयका वैवाहिक वर्षगाँठलाई पनि सामाजिक सञ्जालको पर्दामा नटाँसे  अन्य मानिसका शुभकामना नै पाइँदैन । यस्तो माया पनि किन सामाजिक सञ्जालमा राख्नुपर्ने बाध्यता आइलागेको हो त्यो पनि बुझ्न सकिएको छैन । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताले हुँदा–हुँदा अब सहवासका मात्र तस्बिर अपलोड गर्न बाँकी छ । यो पनि विदेशी प्रयोगकर्तालाई त कुनै मतलब छैन, नेपाली प्रयोगकर्ताले कुन दिन झुक्किएर यस्तो तस्बिर राख्ने हुन् त्राहीमाम हुनुपर्ने  स्थिति हामीलाई पो छ । 




Author

दीपक खनाल