बोमलाल गिरी
नवलपुर, साउन २ गते । नेपालमा धामी, झाँक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर नवलपुरमा भने बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै खुलमखुल्ला १० दिने तान्त्रिक झाक्री शिविर सञ्चालन हुने भएको छ ।
नवलपुरको कावासोती–३ मा १० दिनसम्म तान्त्रिक शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने नेपाल लोकतान्त्रिक झाँक्री सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश भुजेलले बताउनुभयो । कार्यक्रम गर्नका लागि झाँक्री सङ्घलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कावासोती नगरपालिका वडा नं. २ र ३ ले अनुमति दिएको भुजेलको दाबी छ ।
तर जिल्ला प्रशासन कार्यालयले भने विधिवत् रुपमा दर्ता भएको संस्था भएकाले कार्यक्रम गर्न र शान्ति सुरक्षा प्रदान गर्न अनुमति दिए पनि प्रशासनले पछि अनुमति फिर्ता लिएको छ ।
‘‘सुरूमा दर्ता भएको संस्था भएकाले अनुमति दिइएको थियो तर पछि खुलमखुल्ला यस्ता गतिविधि गर्न दिनुहुन्न भनेर अनुमति फिर्ता लिइएको छ,’’ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भन्नुभयो, ‘‘उहाँहरुले आफ्नै तरिकाले कार्यक्रम गरेमा शान्ति सुरक्षा त दिनैपर्याे ।’’
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले पनि कार्यक्रमका लागि अनुमति दिनु र शान्ति सुरक्षा प्रदान गर्नु फरक विषय भएको बताउनुभयो ।
देशका विभिन्न ठाउँमा लामो समयदेखि तन्त्रमन्त्र विधाबाट उपचार गरिरहेको भन्दै संघका अध्यक्ष भुजेलले नवलपुरमा १० दिने शिविर सञ्चालन गर्नका लागि प्रशासनबाट अनुमति लिएकोले कानुनले नरोक्ने दाबी? गर्नुभएको छ । उहाँले स्थानीयकै आग्रहमा देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गरिरहेको उहाँको दाबी छ ।
शिविर सञ्चनलका क्रममा बहुलाउने, छटपटाउने, मानसिक अवस्था ठिक नभएको, खाएको, बोलेको, हिडेको बिर्सने, हातगोडा झमझमाउने, पेट पोल्ने, टाउको दुख्ने, नसाको समस्या भएकोलगायत सबै प्रकारका रोगको उपचार गर्ने भुजेलको दाबी छ ।