• २ साउन २०८२, शुक्रबार

जापानमा चामलको मूल्य दोब्बर

blog

टोकियो, साउन २ गते । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले यो सप्ताहान्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गतवर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू छन् । चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो ।

समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो । ऊर्जा र ताजा खानाबाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ । यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ ।

अक्टोबरमा उहाँको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो । यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।

यसैगरी, इशिबा अगस्ट १ मा २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकासँग व्यापारिक सम्झौता गर्न थप दबाबमा हुनुहुन्छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानको महत्त्वपूर्ण अटो आयात पहिले नै स्टिल र एल्युमिनियम जस्तै पीडादायी भन्सार शुल्कको अधीनमा छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली पावरहाउससँग ७० अर्ब डलरको व्यापार घाटा कम गर्न जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा धेरै उत्पादन गरुन् र टोकियोले ग्यास, तेल, कार र चामलजस्ता धेरै सामान अमेरिकाबाट खरिद गरोस् भन्ने चाहनुहुन्छ ।

चामलको बढ्दो मूल्यका कारकहरूमा दुई वर्षअघि अत्यधिक तातो र सुक्खा गर्मीले राष्ट्रव्यापी फसल नोक्सान गरेको कारण हुने अभावहरू समावेश छन् । त्यसबेलादेखि केही व्यापारीहरूले आफ्नो नाफा बढाउनका लागि चामल भण्डारण गरिरहेको विज्ञहरू बताउँछन् ।

यो समस्या गत वर्ष सम्भावित ‘मेगाक्वेक’ का बारेमा सरकारी चेतावनीले प्रेरित आतङ्कित खरिदारीले अझ खराब बनाएको थियो । यद्यपि महाभूकम्प आएन । सरकारले फेब्रुअरीदेखि आफ्नो आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चालेको छ । सरकारले यस्तो कदम सामान्यतया प्रकोपको समयमा मात्र चाल्ने गरेको थियो ।

“नीतिगत उलटपुलट, उत्पादकबाट उपभोक्ता मूल्यहरूमा ढिलो पास–थ्रु, र येनको अवमूल्यनले निकट अवधिमा मूल्य दबाब उच्च राख्नेछ”, मुडिज एनालिटिक्सका स्टेफान एङ्ग्रिकले भन्नुभयो, “नाममात्रको तलब वृद्धि अड्किएसँगै, वास्तविक तलबले चाँडै आवश्यक वृद्धि पाउनेछैन । र अमेरिकी भन्सार शुल्क र भन्सार शुल्क धम्कीहरूले उत्पादन र रोजगारको अवस्थालाई प्रभावित गर्दा तलब वृद्धि सम्भवतः अझ सुस्त हुनेछ ।”

उहाँले भन्नुभयो, “यसले बैंक अफ जापानलाई बन्धनमा राख्छ । हामी अपेक्षा गर्छौं कि बैंक अफ जापान अहिलेका लागि होल्डमा बस्नेछ, तर लामो समयसम्म होइन । जनवरीसम्म दर वृद्धि सम्भावित छ र डिसेम्बरमा नै आउन सक्छ ।” रासस