सचिन पाख्रेल
इटहरी, साउन १ गते । कोशी प्रदेश सरकारले प्रदेशभर पूर्वाधार निर्माणका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ ।
बिहीबार इनरुवामा आयोजित एक कार्यक्रमबिच प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीस्थित पूर्वाधार विकास कार्यालयको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
इनरुवास्थित सुनसरी कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सेवा नागरिकको घरदैलोमै’ पु¥याउने उद्देश्यले प्रत्येक जिल्लामा पूर्वाधार कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले यो कदम प्रदेश सरकारको विकास र निर्माणसम्बन्धी कार्य तिब्रता दिने रणनीतिक योजना अन्तर्गत उठाइएको बताउनुभयो ।
“सुनसरी मेरो गृह जिल्ला होइन, तर यो जिल्लामा प्रदेश सरकारको लगानी सबैभन्दा बढी रहेको छ” उहाँले भन्नुभयो, “कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षदेखि सञ्चालनमा आउने छ, दुई वर्षभित्र अरबौं रुपियाँ बराबरको संरचना निर्माण गरी यो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि बढाएका छौँ ।”
मुख्यमन्त्री कार्कीले इनरुवा–दुहबी सडक विस्तारको लागि यसै वर्ष ठेक्का प्रक्रियाबाट निर्माण कार्य अघि बढाइने र कौवाखोच सडक निर्माणका लागि आवश्यक सहकार्यको प्रक्रिया पनि तिब्र बनाइएको जानकारी दिनुभयो । उहाँले रामधुनी र कोशी टप्पुलाई समेत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको पनि बताउनुभयो ।
यसैबिच, प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गर्नुभएको छ । यसअघि कोशी प्रदेशमा सहरी विकास र पूर्वाधार विकास गरी जम्मा नौ वटा कार्यालय मात्र रहेका थिए । नयाँ संरचनाअन्तर्गत अब प्रत्येक जिल्लामा एक–एक गरी जम्मा १४ वटा भौतिक पूर्वाधार विकास कार्यालय क्रियाशील हुनेछन् । यसले प्रदेशको समग्र पूर्वाधार विकासलाई गति दिने प्रदेश सरकारले विश्वास लिएको छ ।