• २ साउन २०८२, शुक्रबार

तुइनमुक्त प्रदेश बनाउने योजना

blog

प्रदेश सरकारले दैलेखमा निर्माण गरेको झुलुङ्गे पुल । तस्बिरः रजनी योगी

रजनी योगी

सुर्खेत, साउन १ गते । कर्णालीमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरुप विवरण माग गरेको थियो । चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीतिअनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइनको विवरण माग गरेको थियो । दश वटै जिल्लाबाट गरेर ५० तुइनको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालय र मन्त्रालयको इमेलमा विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

सात जिल्लाबाट विवरण प्राप्त भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । कालिकोटबाट र जाजरकोटबाट १२–१२ वटा, दैलेख र मुगुबाट दुई–दुई वटा डोल्पाबाट तीनवटा, हुम्लाबाट १५ वटा र सुर्खेतबाट आठवटा तुइन रहेको सूचना प्राप्त भएको सुवदीले बताउनुभयो । मन्त्रालयले तुइन विस्थापन अभियान सञ्चालन गर्ने र कहीँ कतै तुइन सञ्चालन भएको जानकारी भए जानकारी गराउन गत जेठ २६ गते सूचना जारी गरेको थियो । 

प्राप्त भएको विवरणका आधारमा विस्तृत विवरण तयार पारिने प्रवक्ता सुवेदीको भनाइ छ । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयलाई स्थलगत रुपमा अनुगमन गरेर विस्तृत विवरण माग गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा तुइन विस्थापन गर्ने कुरालाई समेटेको छ । विस्तृत विवरणमा तुइन रहेको नदी र खोलाको नाम, तुइन रहेको स्थान (जिल्ला) को नाम, दूरी तथा उक्त तुइन प्रयोग गर्ने जनसंख्याको विवरण अनिवार्य गरिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत तुइन विस्थापन गर्ने योजना समावेश गरिएको छ ।

बजेट विनियोजन गरेर सरकारले तुइन विस्थापनको योजना कार्यान्वयन गर्न लागेको छ । चालु आर्थिक वर्षमा उक्त शिर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो । जनसंख्या भूगोल लगायतका विषय समेटेर यथार्थ विवरण संकलन गरिने जनाइएको छ । 

कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन् ।  २०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइन मुक्त देश घोषणा गर्नुभएको थियो । तर कर्णालीका कतिपय स्थानमा अझै पनि तुइनकै भरमा स्थानीयहरु यात्रा गर्न बाध्य छन् । 

तुइनमुक्त बनाउनेगरी प्रदेश सरकारले पनि काम अघि बढाएको छ । जिल्लाबाट आएको विवरणअनुरूप तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेछ । चालु आर्थिक वर्षमा विवरणअनुसार झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयले जनाएको छ । हिमाली जिल्ला हुम्लामा मात्र कर्णाली नदीमाथि आधा दर्जन तुइन रहेको छ । 

भौगोलिक रूपले विकट र दुर्गम स्थानका बासिन्दाको यातायात सेवाको पहुँचमा सहजता एवं सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दूरीभित्र पहुँच सुविधा पुगाउने लक्ष्य राखिएको छ । अहिलेसम्म कम्तिमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुनेगरी निर्माण गरिरहेको भौतिक मन्त्रालयले जनाएको छ ।