रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), साउन १ गते । बर्सात सुरु भएसँगै बडीगाडखोला किनारका स्थानीय ढुक्कले निदाउन छोडेका छन् । २०७३ सालमा बडीगाडखोलाले सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घरगोठसहित खेत बगायो । सात वर्ष छिमेकमा छाप्रोकै बास भयो । छाप्रोमा बस्न निकै मुस्किल भएपछि सरकारी अनुदानको आसमा भुसालले घर बनाउनुभयो । अहिलेसम्म राहत नपाएको उहाँको गुनासो छ ।
बडीगाडखोला किनारमा पर्ने भुवाचिदी, चोरकाटे र उल्लीखोला क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् । भुसालले यी बडीगाडखोलाले बेला बेलामा ठुलो क्षति गर्ने भएकाले बर्खामा सधैँ आकाश हेरेर ओछ्यान लगाउने अवस्था बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुलो खोला भएकाले कहिले बाढी आउँछ भर नै छैन । पछिल्ला वर्षमा फेरि खोला बस्तीतिर फर्किएकाले रातमा ढुक्कले निदाउन सकिँदैन । उहाँको खेती गरेर खाने खेत बगर बन्यो । भुसालको घर बगाएपछि बर्सौं छाप्रोमा हुँदा पनि कसैले नहेरेको बताउनुभयो ।
सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी मनु विकको २०७३ सालमा तीनतले घरसहित खेत बडीगाडखोलाले बगायो । शरीरका लुगाबाहेक घरबाट केही निकाल्ने उपाय भएन । कैयौँ सरकारी निकायसँग राहत र अनुदानका लागि पहल गरे पनि कुनै सुनुवाइ भएन । विकले नेता र सरकारका मान्छेले आशा देखाएका कारण आफूले ऋणधन गरेर घर बनाए पनि अहिलेसम्म सुविधा नपाइएको गुनासो गर्नुभयो । ठुलो बडीगाडखोलामा डहरे खोलाको लेदो बगिरहने भएकाले धार परिवर्तनको ठेगान छैन । जसका कारण उल्लीखोलाका करिब ३५ घरपरिवार बाढीको जोखिममा छन् ।
२०७३ सालमा उल्लीखोला र शाहाघाट, चोरकाटेका बस्ती लामो समय विस्थापित हुने अवस्था आएको थियो । सत्यवती गाउँपालिका–६, उल्लीखोलाका युवा प्रेम कार्कीले सरकारका तर्फबाट नदी कटानको नियन्त्रण गर्न पर्याप्त काम नभएकाले अहिले पनि बस्ती जोखिममा रहेको बताउनुभयो ।
बाढीले मुसीकोट नगरपालिका–७, झेँदीका नरबहादुर कार्कीको घर पनि बगाएको थियो । बडीगाडखोलाले कटान थपिँदै जाँदा मुसीकोट नगरपालिका–६, कुर्घाको भुवाचिदी बजार नै जोखिममा छ । मुसीकोट नगरपालिका–६, कुर्घाका व्यवसायी ज्ञानु सापकोटाले अहिले पनि बडीगाडखोलाको बहाब उच्च हुँदा भुवाचिदी बजारका झन्डै ६० देखि ७५ घरधुरी बाढीको उच्च जोखिममा रहेको बताउनुभयो । कुर्घा, चोरकाटे, उल्लीखोला, शाहाघाट, खैरेनी बजारका अधिकांश घर बडीगाडखोलाबाट १० देखि १५ मिटरसम्मको दुरीमा रहेका छन् । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बडीगाडले बर्सेनि कैयाैँ उर्वर खेत कटान गरिरहेको भए पनि दीर्घकालीन योजना निर्माण हुन नसकेको बताउनुभयो । उहाँले मुसीकोटदेखि रुरुक्षेत्रसम्मका दर्जनभन्दा बढी बस्ती र खेतका फाँट बाढीको जोखिममा भए पनि स्थानीयस्तरका साना योजनाले उपलब्धि नदेखिएको बताउनुभयो ।