• १ साउन २०८२, बिहिबार

‘विश्वासको वातावरण सृजना गर्न सरकार गम्भीर छ’

blog

उपसमितिको बैठकमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत। तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, असार ३२ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानीकर्तामा विश्वासको वातावरण सृजना गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। 

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री शाहले लगानी तथा विकास सम्मेलनलाई मध्यनजर गर्दै कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य बिदामा नबस्न निर्देशन दिनु भएको छ। 

“प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते आयोजना हुने लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ”, मुख्यमन्त्रीले भन्नुभयो,“अत्यावश्यक बाहेक अन्य बिदामा कोही पनि नबस्नु होला।”

मुख्यमन्त्री शाहले प्रमुख सचिव डा. कमलप्रसाद पोखरेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न पनि निर्देशन दिनुभएको छ। काम गर्ने क्रममा कानुनी जटिलता आउन सक्ने भन्दै मुख्यमन्त्री शाहले कानुन सचिवलाई सबै निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्न निर्देशन दिनु भएको छ। उहाँले अध्यादेश र संकल्प प्रस्ताव पेशमार्फत ऐन संशोधन गर्न सकिने बताउनुभयो। 

लगानी तथा विकास सम्मेलनबाट पूर्वाधार, पर्यटन विकास र प्रवद्र्धन, रोजगारी सृजनासहित अन्तरदेशीय आर्थिक साझेदारी लगायतको क्षेत्रमा टेवा पुग्ने प्रदेश सरकारले विश्वास लिएको छ।