• १ साउन २०८२, बिहिबार

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

blog

इजरायलद्वारा गाजामा गरिएको आक्रमण । फाइल तस्बिर

गाजा सिटी, असार ३२ गते । हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।

कतारको राजधानी दोहामा हाल जारी अप्रत्यक्ष वार्ताको दोस्रो हप्ता चलिरहेको छ । वार्ताको मुख्य विषय भनेको गाजाबाट इजरायली सेनाको फौज फिर्ता हो ।

हमासले गाजाबाट पूर्ण सैनिक फिर्ताको माग गरिरहेको छ । उसले इजरायलको त्यो प्रस्ताव अस्वीकार गरिसकेको छ जसअनुसार गाजाको ४० प्रतिशतभन्दा बढी भूभागमा इजरायली सेना रहने व्यवस्था गरिएको थियो ।

इजरायली सञ्चारमाध्यम ‘कान’ ले बुधबार एक अज्ञात विदेशी स्रोतलाई उद्धृत गर्दै इजरायल फौज फिर्तासम्बन्धी नक्साहरू परिमार्जन गरिरहेको दाबी गरेको थियो । 

तर हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले भन्नुभयो, “इजरायलले हालसम्म गाजाबाट फौज फिर्ता गर्ने कुनै नयाँ वा संशोधित नक्सा प्रस्तुत गरेको छैन ।”

उहाँका अनुसार,“हाल गाजाको सम्पूर्ण क्षेत्र इजरायली सैनिक नियन्त्रणमा छ । स्थलस्थित परिस्थितिहरूले इजरायलको दीर्घकालीन नियन्त्रण कायम राख्ने उद्देश्य स्पष्ट पार्छ ।”

“इजरायलले गाजाबाट फौज हटाउने वा युद्ध अन्त्य गर्ने कुनै इच्छाशक्ति देखाएको छैन, जुन कुरा उसले वार्तामा र मध्यस्थकर्ताहरूसामु दाबी गरिरहेको दाबीको विपरीत हो,” उहाँले थप्नुभयो ।

इजरायलले हमासमाथि वार्तामा लचिलोपन नदेखाएको आरोप लगाउँदै आएको छ । यद्यपि, मध्यस्थकर्ताको भूमिकामा रहेको कतारले मंगलबार भनेको छ कि वार्ता ‘गतिरोधमा छैन’ र वार्ताको लागि कुनै निश्चित समयसीमा तय गरिएको छैन ।  रासस/एएफपी