• १ साउन २०८२, बिहिबार

महिला न्यायाधीशहरुले धानेको अदालत: न्याय सम्पादनमा न्यायाधीशको लिङ्ग नहुने भनाई

blog

मकवानपुरगढी, असार ३२ गते । जिल्ला अदालत मकवानपुर अरु भन्दा फरक छ मतलब यहाँ कार्यरत चारै जना न्यायाधीश महिला हुनुहुन्छ । अदालत हुने गरेका फैसलाहरुमा चारै जना न्यायाधीशहरूको एउटै आवाज सुनिन्छन् ‘न्यायाधीशको लिङ्ग हुँदैन’ । 

विरलै मात्र देखिने मध्ये यहाँको महिला नेतृत्वले नेपाली समाजलाई नयाँ स्वाद दिएको छ त्यो मात्र नभएर न्याय सम्पादनमा विश्वास समेत गरेको छ । जिल्ला अदालत मकवानपुरमा महिला न्यायाधीश मात्र हैन श्रेष्तेदारमा पनि महिला रोशी भण्डारी रहनुभएको छ भने बबिता बस्नेत तहसिलदारको रूपमा कार्यरत हुनुहुन्छ । घरधन्दा, मेलापात र चुल्हो चौकामा घोटिने महिलाहरूको हात आजभोलि ऐन कानुन निर्माण, अदालती इजलास, बिरामी शल्यक्रिया, प्रधानाध्यापक, प्रहरी प्रमुख लगायतका भूमिकामा देखिन्छन् । 

हरेक नेतृत्वमा पुरुषको उपस्थिति हुने तर यहाँ भने नेपाली समाजले चाहेको भन्दा फरक छ । यहाँ महिला नेतृत्वलाई सहजै अपनत्व र विश्वास गरिएको छ । मकवानपुर जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईले न्याय क्षेत्रलाई कर्मथलो बनाउनुभएको झन्डै चौध वर्ष भयो  । 

महिला न्यायाधीश भएर १० वर्ष काम गरिसक्नु भएकी भट्टराईले यसअघि काभ्रे, ललितपुर, चितवन, पोखरामा काम गर्नुभयो । काठमाडौँ स्थायी ठेगाना हुनुभएकी भट्टराईलाई न्याय क्षेत्रमा काम गर्ने रस त्यति बेला पस्यो, जुन बेला उहाँले हिन्दी सिनेमाकी अभिनेत्री हेमा मालिनीको सिनेमालाई पछ्याउनुहुन्थ्यो । त्यति बेला नेपाली सिनेमा कमै हुन्थे । हामी हिन्दी चलचित्र खुब हेथ्र्याै । मेरो कलिलो दिमागमा उहाँको रोल मोडलको प्रभाव परेछ उहाँले भन्नुभयो । 

यता जिल्ला अदालत मकवानपुरकी अर्की न्यायाधीश गीता श्रेष्ठले पनि न्याय क्षेत्रमा काम सुरु गर्नुभएको झन्डै १० वर्ष पुग्यो । भक्तपुरमा जन्मिनुभएकी श्रेष्ठ विवाहपछि काभ्रे जिल्लामा बस्दै आउनुभएको छ । यसअघि चितवन, काठमाडौँ र धादिङ हुँदै हाल मकवानपुर जिल्लामा न्यायाधीश भएर उहाँले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । 

स्थायी ठेगाना मोरङ हुनुभएकी शकुन्तला कार्की १६ वर्षदेखि निरन्तर न्यायको क्षेत्रमा कर्म गरिरहनुभएकी शकुन्तला कार्की विगत पाँच वर्षदेखि न्यायाधीश भएर काम गरिरहनु भएकी छ । 

त्यस्तै २०५३ सालदेखि न्यायको क्षेत्रमा लगन रहनुभएकी पूर्णिमा कोइरालाले कैयौँ अदालत र कानुन मन्त्रालयमा समेत कर्म गर्नुभयो । विगत चार वर्ष देखि उहाँ न्यायाधीश भएर हाल मकवानपुर जिल्ला अदालतमा रहनुभएको छ । 

जिल्ला अदालत मकवानपुरमा अघिल्ला वर्षहरूमा भन्दा यस वर्षको कार्य सम्पादन अझै चुस्त देखिएको छ । न्यायका कुरामा आफूहरू विभेद नरहेको उहाँहरू बताउनुहुन्छ । ‘ हामी महिला भएकै कारण महिलाका संवेदनालाई झट्टै बुझिहाल्ने कुरा त स्वाभाविक भइहाल्यो । तर न्याय दिलाउने कुरामा हामी सत्य तथ्यलाई हेर्ने गर्छौ ।’

पुरुषसँग हातमा हात, काँधमा काँध मिलाएर काम गर्न पाउँदा प्रतिस्पर्धाको नभई आफ्नो क्षमता जाँच्ने अवसर प्राप्त भएको उहाँहरू बताउनुहुन्छ । यस वर्ष जिल्ला अदालत मकवानपुरले लक्ष्यभन्दा राम्रो कार्य सम्पादन गरेको तथ्याङ्कले देखाएको छ । ‘काम गर्ने सिलसिलामा अन्य जिल्लामा सरुवा भइएन भने एउटा लगनशीलताका साम काम अघि बढ्छ । हामी यो वर्ष चार जनानै एक ठाउँमा भयौँ । त्यसैले यो वर्षको रिजल्ट राम्रो आएको छ । ’ न्यायाधीश भट्टराईले बताउनुभयो । 

जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५५३ गरी कुल ४ हजार १ सय १० मुद्दा रहेका थिए । ती मध्ये चालु आर्थिक वर्षको असार ३० सम्म अदालतले ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ भने लक्ष्यको आधारमा १ सय ४ दशमलव ७९ प्रतिशत फर्स्यौट गरेको छ । 

अदालतले लक्ष्यभन्दा बढी फर्स्यौट गरेको मुद्दाको सङ्ख्या १ सय २९ रहेको छ । अदालतका अनुसार १ हजार २८२ मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन् भने ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा रहेका छन् ।

जिल्ला अदालत मकवानपुरमा कुल ६० जना कर्मचारी कार्यरत छन् । यहाँ ४ न्यायाधीशसहित महिलाको सङ्ख्या २६ रहेको छ भने पुरुष कर्मचारीको सङ्ख्या ३४ रहेको छ । 

Author
स्मिता अर्जेल

उहाँ मकवानपुरगढीबाट रिपोर्टिङ गर्नुहुन्छ ।