गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउने विषयमा महासंघका पदाधिकारी तथा सदस्यहरुसँग मंगलबार छलफल गरेको छ ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित दुई पक्षीय छलफलमा महासंघको २७ औं महाधिवेशनले दिएको म्यान्डेटअनुसार त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभाग र इतिहास विभाग सम्मिलित अध्ययन कार्यदल बनाएर सो विषय टुङ्गो लगाउन ढिलो गर्न नहुने भन्दै फोनिज पदाधिकारीले पत्रकार महासंघका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।
महासंघका कार्यबाहक अध्यक्ष दिपक आचार्यले सबैको परामर्श र महासंघको २७ औं महाधिवेशनको म्यान्डेटअनुसार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । संस्थापकको विषय गम्भीर विषय भएकाले त्यसमा आवश्यक छलफल गरी अघि बढ्न महासंघ तयार रहेको उहाँले बताउनुभयो ।
महासंघका अध्यक्ष निर्मला शर्मा हाल देश बाहिर रहनुभएकाले उहाँ आउनुभएपछि फोनिज सँगको छलफल भएको विषयमा जानकारी गराउने बताउनुभयो । संस्थापक विषय फोनिजको मात्र विषय नभइ समग्र पत्रकारको विषय भएकाले सबै गम्भीर बन्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
फोनिजका सल्लाहकार समितिका संयोजक गजुरधन राईले महासंघको २७ औं महाधिवेशनले दिएको म्यान्डेटलाई महासंघले नजरअन्दाज गर्न नसक्ने भन्दै विज्ञ समिति गठन गरी काम छिटो अगाडि बढाउन सुझाव दिनुभयो । विज्ञ सम्मिलित अध्ययन समितिले दिएको प्रतिवेदनलाई स्वीकार गरी अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
फोनिजका सल्लाहकार खिम घलेले संस्थापकको विषयमा महासंघले खासै चासो लिएको नदेखिएकोले समस्या समाधान नभएको बताउनुभयो । संस्थापक मुद्दा पत्रकारको साझा मुद्दा भएकाले अध्ययन समिति गठन गरेर विषय टुंगोमा लग्न ढिलाई गर्न नहुने उहाँले सुझाव दिनुभयो ।
फोनिजका अर्का सल्लाहकार तथा प्रेस सेन्टरका महासचिव मनोज घर्तीले महासंघको संस्थापक विषय ढिलोचाँडो निस्कर्षमा पुगाउनैपर्ने बाध्यता रहेकाले पनि अध्ययन समिति गठन गर्न ढिलाई नगर्न उहाँले महासंघ र फोनिजलाई सुझाव दिनुभयो । इतिहास जे सत्य हो त्यही हुन्छ, यसमा दायाँबायाँ गर्न छुट कसैलाई नरहेको उहाँले बताउनुभयो ।
फोनिजका अध्यक्ष लक्की चौधरीले विज्ञ सम्मिलित अध्ययन समितिले दिएको प्रतिवेदन सबैलाई स्वीकार हुने बताउनुभयो । तत्कालीन नेपाल पत्रकार संघ र आजको महासंघ स्थापना भएको ७४ वर्ष पुगे पनि महासंघको संस्थापक विषय विवादमै रहनु शोभनीय नभएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार तत्कालीन ‘नेपाल टुडे’ का सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा वि.सं. २००८ वैशाख ८ गतेको पत्रकारहरुको भेलाबाट तत्कालीन नेपाल पत्रकार संघ गठन भएको थियो । तर महासंघले २०१२ साल चैत १६ गते पुनरगठन भएको संघलाई अविच्छिन्नता दिंदैआएको छ । महासंघ र फोनिजको आपसी समन्वय, सहकार्यमा संस्थापकको विषय टुङ्गो लाग्ने भन्दै उहाँले विज्ञ समिति तत्काल गठन गर्न माग गर्नुभयो ।
२०८१ वैशाख २२ गते सम्पन्न महासंघको २७ औं महाधिवेशनको बन्दसत्रबाट जारी गरिएको घोषणापत्रको बुँदा नम्बर ५ मा भनिएको छ, “नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवादलाई दृष्टिगत गरी उक्त विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग र इतिहास विभागसँगको समन्वयमा अध्ययन–अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुग्न यो महाधिवेशन महासंघलाई निर्देश गर्दछ ।”
सो अवसरमा महासंघका उपाध्यक्ष नितु पण्डित, उमिद बागचन्द, महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारी नेपालका सन्दीप राई, सचिव तथा जनजाति विभागका प्रमुख सविन प्रियासन, फोनिजका महासचिव समिर बलामी लगायतले महासंघ संस्थापक विषयमा छिटो टुङ्गोमा पुग्नेगरी काम हुनुपर्ने बताउनुभएको थियो ।
फोनिजले गत वैशाख २० गते विज्ञ समिति गठन गर्न भन्दै महासंघका अध्यक्षसहित पदाधिकारीहरुलाई तीन महिनाको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको थियो । तीन महिना पुगे पनि महासंघले केही काम नगरेको भन्दै फोनिजले पुनः महासंघ पदाधिकारीहरुसँग छफल गरेको हो ।