• १ साउन २०८२, बिहिबार

उत्कृष्ट टोल विकास संस्थालाई नगद पुरस्कार

blog

उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कृत गरेपछिको सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने टोल विकास संस्थालाई नगद पुरस्कार प्रदान गरेको छ। पालिकाभित्र गठन भएका टोल विकास संस्थामध्ये गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा उत्कृष्ट काम गर्ने टोल विकास संस्थालाई ५० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको हो।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गत आवमा भएको कार्य सम्पादनका आधारमा वडा नम्बर-२, ढुङ्गेसाँघुस्थित लाली रमिते ठोट्ने टोल विकास संस्थालाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिएको छ। संस्थाको क्रियाशीलता, विनियोजित आयोजनाको कार्यान्वयन, गुणस्तरीय काम, सामूहिक नेतृत्व प्रणाली, स्थानीय सरकारले दिएको निर्देशनहरू कार्यान्वयन लगायतमा उत्कृष्ट कार्यसम्पादन गरेको पाइएपछि उक्त संस्थालाई उत्कृष्ट टोल विकास संस्था छनोट गरी पुरस्कृत गरिएको अध्यक्ष वनेमले बताउनुभयो।

उहाँका अनुसार विभिन्न सूचकलाई आधार बनाई टोल विकास संस्थाको कार्यसम्पादन मापन गरिएको र उत्कृष्ट संस्थाका रूपमा अनुगमन समितिको सिफारिस भएको उक्त संस्थालाई पुरस्कृत गरिएको हो। गाउँपालिकाका छ वटामा २९ वटा टोल विकास संस्था रहेका बताइएको छ। 

स्थानीय सरकारले सञ्चालन गरेका क्रियाकलापलाई संस्थागत र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी ऐन २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।

पालिकाभरको उत्कृष्ट छनोट भएको उक्त टोल विकास संस्थालाई बिहीबार आयोजित कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष वनेमले पुरस्कार रकम वितरण गर्नुभएको हो। विकास निर्माणमा नागरिकको सहभागिता बढाउन साथै संस्थाले पाएको जिम्मेवारीप्रति थप प्रोत्साहित गर्न उत्कृष्ट टोल विकास संस्था छनोट गरी पुरस्कृत गरिएको पनि अध्यक्ष वनेमको भनाइ छ। 

मैवाखोलासहित जिल्लाका अन्य स्थानीय तहमा पनि टोल विकास संस्था गठन गरी सम्बन्धित स्थानीय तहको विकास निर्माण लगायतका काममा परिचालित हुँदै आएका छन्। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, वडाका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो।