फडिन्द्र अधिकारी
लेखनाथ, साउन १ गते। आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा यसपालि ५१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा छ अर्ब आठ करोड ४६ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
अघिल्लो वर्ष पाँच अर्ब ५७ करोड ५९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा नौ प्रतिशत बढी हो। गएको वर्ष आन्तरिक राजस्व कार्यालयको वार्षिक लक्ष्य सात अर्ब १९ करोड १७ लाख रहेकोमा कार्यालयले लक्ष्यको ८५ प्रतिशत राजस्व जम्मा गरेको प्रमुख कर अधिकृत शिव शर्माले बताउनुभयो।
कार्यालयमा गत आर्थिक वर्षमा आयकरतर्फ चार अर्ब, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८९ करोड ५९ लाख र अन्तः शुल्कतर्फ १८ करोड ४५ लाख राजस्व जम्मा भएको छ। प्रमुख कर अधिकृत शर्माले केही समस्याले लक्ष्य हाँसिल नभए पनि प्रगति भने भएको उल्लेख गर्नुभयो।
“सहकारीमा समस्या, आर्थिक गतिशीलतामा सुस्तता जस्ता कारणले लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन सकेन,” उहाँले भन्नुभयो, ‘त्यसो नभए पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक राजस्व सङ्कलन भएको छ।” आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत व्यावसायिक प्यानमा दर्ता हुने करदाताको संख्या ६८ हजार छ। तीमध्ये १२ हजार पाँच सय करदाता मूल्य अभिवृद्धि करमा दर्ता छन् भने व्यक्तिगत प्यान लिनेको संख्या दुई लाख १० हजार छ।
करदातालाई सहायता नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा करदाता सहायता कक्ष सञ्चालनमा आएको छ। कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले करदाता सहायता कक्ष उद्घाटन गर्नुभयो। आन्तरिक राजस्व कार्यालय पोखरा, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ र जिआइजेडको सहयोगमा करदाता सहायता कक्ष निर्माण भएको हो।