स्मिता अर्जेल
मकवानपुरगढी, साउन १ गते । मकवानपुरको हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्याली आयोजना हुने भएको छ । सन् २०१८ देखि निरन्तर साईकल महोत्सव गर्दैआएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साईकल र्याली गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ गरिने साईकल र्यालीले स्वच्छ वातावारणमा जोड दिनुका साथै हेटौंडालाई साईकलसँग जोड्ने विश्वासका साथ कार्यक्रमलाई निरन्तरता दिइएको राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो ।
५० किलो मिटरको यात्रामा हुने ¥यालीमा १२ वर्ष उमेरमाथिका जोसुकै साईकल प्रेमीहरुले सहभागिता जनाउन सक्ने अध्यक्ष ताम्राकारले बताउनुभयो । ¥यालीमा मकवानपुर लगायत आसपासका जिल्लाहरु चितवन, बारा, पर्सा लगायत काठमाडौंबाट समेत गरी करिब ३ सयभन्दा बढी राइडर सहभागी हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
हालसम्म २ सय ५० जनाले नाम दर्ता गराएका छन् भने कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क जर्सीको व्यवस्था रहेको छ । विहान ७ बजे सुरु हुने र्याली हेटौंडाको प्रमुख धार्मिकस्थल पशुपति मन्दिरबाट सुरु भई विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरी शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, महेन्द्र राजमार्ग, त्रिवेणी धाम, कर्रा, लगायतका स्थानहरु हुँदै बुद्धचोकमा आएर समापन हुने आयोजकले जनाएको छ ।
साईकल प्रेमी उत्पादन गरी स्वच्छ वातावरण निर्माण अभियानमा जुटेको हेटौंडा राइडर्स क्लबमा हाल पाँच सय जना सदस्य आवद्ध रहेका छन् । क्लबका अनुसार मकवानपुर जिल्लामा ६ हजार साईकल राइडर रहेका छन् ।