लस एन्जेलस, साउन १ गते । बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियाे । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएकाे छ ।
भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।
अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए । “दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ”, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी) ले जनाएकाे छ ।
युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी पराकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठुलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो ।
सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ । स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट (६.१ सेन्टिमिटर) उचाइको सुनामी अवलोकन गरिएको थियो ।
“स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोवास नगर्नुहोस्”, एनटिडब्लुसीले उल्लेख गरेकाे छ ।
अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ । सन् १९६४ मार्चमा ९।२ म्याग्निच्युडको भूकम्प गएको थियो । यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो ।
उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो । भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो ।
सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । रासस