काठमाडौँ, साउन १ गते । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपियाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल हुनुभएको छ । उहाँले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पार्नुभएको हो ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौँकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नुहुँदै पाँच लाखको ब्रान्ड डिल जित्नु भएको छ । यता बागलुङका मनिष रुचेलले तेस्रो बन्दै दुई लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जित्नु भएको छ । त्यसै गरी बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पीकका रूपमा एक लाखको ब्रान्ड डिल जित्न सफल हुनुभयो ।
गत शुक्रबार काठमाडौँमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरी टेलर्सलाई सशक्त बनाउने उद्देश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको थियो ।
“देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठुलो प्रेरणा मिल्ने छ भन्ने कुराममा म पूर्णरूपमा विश्वस्त छु,” एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भन्नुभयो । “साथै यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्याउनु हुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौँ।, उहाँले भन्नुभयो”
प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरूलाई पाँच जना मेन्टरहरू सन्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छान्नुभएको थियो । उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरू मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरू छानिएको थियो ।
निर्णायक मण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।