इस्लामाबाद, साउन १ गते । पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उदृत गर्दै बुधबार बताएको छ ।
परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै गइरहेको छ । खामा प्रेसका अनुसार एमएसएफले आफ्नो निष्कर्षमा धेरै अफगान अहिले गम्भीर रूपमा अस्वस्थ भए पनि चिकित्सा सहायता लिन डराइरहेका छन् । निर्वासनको डरले उनीहरूको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै गम्भीर मनोवैज्ञानिक क्षति पनि पुर्याएको छ ।
सन् २०२३ नोभेम्बरदेखि पाकिस्तानले अफगान नागरिकहरू विरुद्ध आफ्नो निर्वासन अभियान बढाएको छ । सुरुमा, यो कागजातविहीन व्यक्तिहरूमा केन्द्रित थियो तर अवैध कागजातहरू भएका व्यक्तिहरू पनि जोखिममा छन् । यद्यपि इस्लामाबादले भर्खरै सन् २०२५ जुलाईदेखि कानुनी निवास कार्ड भएका अफगानहरूको निर्वासन रोक्ने बताएको छ ।
पाकिस्तानले हाल अफगान आप्रवासी र शरणार्थीहरूको विश्वको सबैभन्दा ठुलो जनसङ्ख्यामध्ये एकलाई आश्रय दिन्छ । तीमध्ये धेरै अफगानिस्तानमा युद्ध र अस्थिरताबाट बच्न सीमा पार गरेर आएका थिए । खामा प्रेसका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पाकिस्तानी सरकारलाई अफगान शरणार्थीहरूलाई अनुचितरूपमा लक्षित गर्न रोक्न र उनीहरूलाई स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।
यसअघि, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानबाट फर्केका मानिसहरूको ठुलो वृद्धिलाई लिएर चेतावनी दिएको थियो । साथै राष्ट्रसङ्घले सन् २०२५ मा अहिलेसम्म १३ लाखभन्दा बढी मानिस अफगानिस्तान फर्केको भन्दै तत्काल विश्वव्यापी सहयोगका लागि आह्वान गरेको थियो । इस्लाम काला सीमा विन्दुको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले भन्नुभयो, “दशकौँअघि द्वन्द्वबाट भागेका परिवारहरूका लागि सकारात्मक घर फर्कने क्षण हुनुको सट्टा थकान, आघात र गहिरो अनिश्चितता देखिएको छ ।” रासस/एएनआई