• २ साउन २०८२, शुक्रबार

दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला

blog

सांकेतिक तस्बिर : सामाजिक संजाल

टोकियो, साउन २ गते । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।

अमेरिकी गैर-नाफामुखी ओसियन एक्सप्लोरेसन ट्रस्टको टोलीले अस्ट्रेलियाको उत्तरपूर्वमा रहेको सानो टापु राष्ट्रको नजिक आठ सय मिटर (दुई हजार छ सय २५ फिट) भन्दा बढी गहिराइमा इम्पेरियल जापानी नौसेनाको विध्वंसक तेरुजुकी फेला पारेको छ । भग्नावशेषको भिडियो तस्बिरले सन् १९४२ मा अमेरिकी सेनाले टारपिडो प्रहार गरेको एक सय ३४ मिटर (चार सय ४० फिट) तेरुजुकीका केही भागहरू देखाउँदछ । यसलाई अनुसन्धान टोलीको पानीमुनि ड्रोनको बत्तीले उज्यालो पारिएको थियो ।

फुटेजमा जहाजको संरचनामा रातो रङ, क्षय भएका बन्दुकका नालहरू र युद्धपोतको विशाल पछाडिको भाग देखाइएको छ । सन् १९४२ मा कमिसन गरिएको तेरुजुकीलाई हवाई आक्रमणहरूबाट विमानवाहक पोतहरूलाई सुरक्षा प्रदान गर्नका लागि डिजाइन गरिएको अन्वेषण समूहले बताएको छ । यद्यपि तेरुजुकीलाई सेवामा आएको केही महिनामै अमेरिकी टारपिडोले प्रहार गरेको थियो । तेरुजिकीको अर्थ जापानी भाषामा ‘चम्किलो चन्द्रमा’ हो ।

ओसन एक्सप्लोरेसन ट्रस्टका अनुसार टारपिडोको आक्रमणबाट नौ नाविकको मृत्यु भए पनि अधिकांश चालक दलका सदस्यहरू बाँचेका थिए । तेरुजुकीको पछाडिको भाग हलबाट दुई सय मिटर (छ सय ६० फिट) भन्दा बढी टाढा फेला परेको थियो र उच्च-रिजोल्युसन सोनार स्क्यानद्वारा पत्ता लगाइएको थियो । अज्ञात जहाज भग्नावशेष वा अन्य वस्तुहरू फेला पार्ने आशामा टोलीले क्षेत्रको सर्वेक्षण गर्न ड्रोन प्रयोग गर्दा यो खोज गरिएको थियो । रासस/एएफपी