• २ साउन २०८२, शुक्रबार

‘आशावादी मान्छे मात्र सफल हुन्छन्’

blog

कार्यक्रममा सम्मानित हुँदै काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोल ।

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन २ गते । काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे मात्र सफल हुने बताउनुभएको छ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा  ‘फिनिक्स इन्स्पिरेशन’ ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलाई ‘वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर २०२५’ मा छनोट भएको भन्दै युवा सशक्तिकरण पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मानपछि संक्षिप्त मन्तव्य राख्दै डंगोलले सपना देख्ने मान्छेहरु मात्र सफल हुने भन्दै सपनाको शक्तिमा विश्वास गर्न आग्रह गर्नुभयो । ‘जुन युवाले सपनामा विश्वास गर्छ, त्यो युवाले समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ’ उहाँले भन्नुभयो, ‘विश्वास गर्ने मात्र होइन, काम गरेर देखाउने र आफ्नो प्रतिबद्धताअनुसार काम गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन ।’ 

उहाँले उमेरले प्रभावलाई परिभाषित नगर्ने पनि तथ्य प्रस्तुत गर्नुभयो । ‘प्रभावलाई परिभाषित गर्ने कुरा उद्देश्य हो । त्यसैले तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट प्रभाव सिर्जना गर्न सक्नुहुन्छ । तर, त्यसका लागि समाज, समुदाय, राष्ट्र र मानवताको सेवा गर्ने स्पष्ट उद्देश्य हुनुपर्छ ।’ 

उहाँले हलभरी खचाखच युवाप्रति लक्षित गर्दै भन्नुभयो,  ‘तपाईहरुले सफलता प्राप्त गर्नु हुनेछ र त्यो सफलता तपाईको व्यक्तिगत वृद्धिको सफलतामा मात्र सीमित हुने छैन । त्यो समाज र राष्ट्रको सफलता पनि हुनेछ, र मानवताको नाममा पनि एउटा सफलता हुनेछ ।’ 

उहाँले ७० औं नेपाल–चीन मित्रताको अवसरमा शुभकामना व्यक्त गर्दै यो मित्रता सरकार–सरकारबिच मात्र नभई जनता–जनताबिच पनि राम्रो सम्बन्धको ढोका खोल्ने अवसर भएको उल्लेख गर्नुभयो ।  ‘यो कार्यक्रम र ७० जना चिनियाँ विद्यार्थीहरू यहि कार्यक्रममा नेपाल आउनु आफैंमा नेपाल र चीनबिच जनस्तरमा राम्रो सम्बन्ध स्थापित गर्ने एउटा उदाहरण हो’ उहाँले भन्नुभयो, ‘म आशावादी छु । यो कार्यक्रम सुरुवात हो । आगामी दिनहरूमा पनि यसले निरन्तर पाउने छ र अझ राम्रो हुँदै जानेछ ।’ 

उहाँले जीवनको सफलता बारेमा मात्र सोच्न नहुनेमा पनि जोड दिनुभयो ।  ‘जीवनमा असफल पनि आउन सक्छन् । तपाईं भुइँमा लड्न पनि सक्नुहुन्छ । त्यतिबेला तपाई कहिल्यै आशा नमार्नुहोस् र सधैं बलियो, दयालु र साहासी भएर उठ्नुहोस् ।’

कार्यक्रममा डंगोलसँगै सफल व्यवसायी पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै अनुराधा शर्मालाई सम्मान गरिएको थियो । उहाँहरुलाई प्रधानमन्त्री अ‍ोली र राष्ट्रियसभा सदस्य तथा पूर्व राजदुत डा. अन्जान शाक्यले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।  

७० औँ वर्षगाँठको सन्देश दिन कार्यक्रममा चिनियाँ शिक्षक र विद्यार्थी ७० जना र नेपाली शिक्षक र विद्यार्थी ७० जनागरी एकसय ४० जनाले विभिन्न प्रस्तुतिमा प्रदर्शन गरेका थिए । 

कार्यक्रममा नेपालीले चिनियाँ र चिनियाँले नेपाली प्रस्तुति प्रर्दशन गरेको संस्थाका संस्थापक अध्यक्ष विनोद ब्लोनले जानकारी दिनुभयो । ‘हामीले नेपाल–चीनबिचको सम्वन्ध अझ प्रगाढ बनाउने दुबै देशका शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले यो पटक ७० जना चिनियाँ शिक्षक र विद्यार्थीलाई नेपालको प्रधानमन्त्रीज्युको अघि राखेर कार्यक्रममा सहभागी गराएका छौँ । आगामी दिनमा हामीले हाम्रा नेपाली शिक्षक र विद्यार्थीलाई चिनियाँ राष्ट्रपतिको अघि राखेर यस्तै कार्यक्रम गर्ने सपना देखेका छौँ । यो दुबै देशबिचको साँस्कृतिक आदन–प्रदानको सन्देश पनि हो ।’  कार्यक्रममा चिनिया राजदूत छान सोङ, चिनिया दुतावासको साँस्कृति विभागका प्रमुख मिस्टर वाङलगायत सहभागी हुनुहुन्थ्यो ।