• २ साउन २०८२, शुक्रबार

नवलपुरबाट ३० अर्ब ६९ करोड राजस्व संकलन

blog

बोमलाल गिरी 

नवलपुर, साउन २ गते । नवलपुरबाट आर्थिक वर्ष २०८१–८२ मा ३० अर्बभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजस्व संकलन भएको हो ।

कार्यालयको कोष नियन्त्रक जीतनारायण महतोका अनुसार गत आव २०८१–८२ मा संघतर्फ ३० अर्ब ११ करोड ७७ लाख ५८२ रुपियाँ राजस्व संकलन भएको छ । संघतर्फ सबैभन्दा धेरै राजस्व आन्तरिक राजस्व कार्यालय कावासोतीले संकलन गरेको छ । यो कार्यालयले २९ अर्ब ९५ करोड ३९ लाख ७ हजार ५४१ रुपियाँ संकलन गरेको छ ।

त्यसैगरी नवलपुरबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने राजस्व ५७ करोड ८९ लाख ५६ हजार ५५ रुपियाँ संकलन भएको कोष नियन्त्रक महतोले जानकारी दिनुभयो । महतोका अनुसार गत आवमा प्रदेश सरकारलाई हस्तान्तरण हुने राजस्वमध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालयले संकलन गरेको हो । यो कार्यालयले गत आव २०८१–८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपियाँ राजस्व संकलन गरेको छ ।