काठमाडौँ, साउन २ गते । वन विकास कोषमा तीन अर्ब रुपियाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन । सो रकम छ वर्षदेखि प्रयोगविहीन छ ।
विभिन्न पूर्वाधार विकासलगायत विभिन्न प्रयोजनका क्रममा काटिने रुखको सट्टा नयाँ रुख रोप्न तथा हुर्काउन सो कोष खडा गरिएको हो । कोषमा जम्मा भएको रकमले काटिएका रुखको सट्टामा नयाँ रुख रोपी हुर्काउने अनिवार्य प्रावधान रहे पनि अहिलेसम्म रुख रोप्ने काम सुरु गरिएको छैन । छ वर्षअघि कोष खडा गरिएको थियो ।
वन तथा वातावरण मन्त्रालयका अनुसार हरेक वर्ष विभिन्न पूर्वाधार विकासका क्रममा सवा एक लाख रुख काट्ने गरिन्छ । हरेक वर्ष सरदर ४५ वटा आयोजनाका लागि ६०५ हेक्टर क्षेत्रफलका सो सङ्ख्यामा रुख काटिने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । एक हेक्टर वनजङ्गल क्षेत्रमा झन्डै १६ सय बोटबिरुवा रहन्छन् । अहिले देशभरिको वनजङ्गलमा १० सेन्टिमिटर गोलाइभन्दा माथिका दुई अर्ब ५६ करोड ३२ लाख ७० हजार रुखबिरुवा छन् ।
वन विभागका वन अधिकृत प्रयास घिमिरेले चालु आर्थिक वर्षको मसान्तसम्म वन विकास कोषमा दुई अर्ब ९८ करोड ५७ लाख १४ हजार ३२१ रुपियाँ जम्मा भएको जानकारी दिँदै कोषको उद्देश्य अनुसारको काममा सो रकम खर्च हुन नसकेको बताउनुभयो । वन ऐन, २०७६ आएपछि २०७६ सालदेखि वन विकास कोषमा रकम जम्मा हुँदै आएको हो । वन ऐनमा वन विकास कोषको व्यवस्था गरिएको छ । २०७६ सालदेखि वन विकास कोष खडा गरिए पनि वन नियमावली, २०७९ लागु भएपछि रुख काटेबापत रुख रोप्नुको सट्टा वन विकास कोषमा रकम जम्मा गर्ने प्रावधान लागु गरिएको हो । यसअघि कुनै आयोजनामा काटिएको रुखको सट्टा रुख नै रोप्नुपर्ने वा रकम जम्मा गर्नुपर्ने प्रावधान थियो । अहिले वन नियमावली, २०८१ (संशोधित) कार्यान्वयनमा छ ।
कार्यविधि नहुँदा रुख रोपिएन
वन अधिकृत घिमिरेले कार्यविधि नहुँदा नयाँ रुख रोप्ने कार्य सुरु हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “वनको विकास, संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यबाट वन विकास कोषको स्थापना गरिए पनि कोष सञ्चालनसम्बन्धी कार्यविधि निर्माण नहुँदा रुख रोप्नेलगायतका काम सुरु हुन सकेको छैन । कार्यविधि नहुँदा कोषको रकम खर्च हुन सकेको छैन ।”
उहाँका अनुसार कोष सञ्चालन कार्यविधिको मसौदा तयार भई छलफलको क्रममा छ । आवश्यक परामर्श र सल्लाह सुझावका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । कार्यविधि पास हुनेबित्तिकै वन विकास कोषमा जम्मा भएको रकम प्रयोगमा आउने उहाँले स्पष्ट पार्नुभयो ।
विभिन्न तीन किसिमबाट वन विकास कोषमा रकम जम्मा हुने प्रावधान रहेको बताउँदै वन अधिकृत घिमिरेले भन्नुभयो, “कसैले वन क्षेत्र प्रयोग गरेबापत वनको सट्टा जग्गा दिनुपर्ने व्यवस्था रहे पनि कुनै कारणवश जग्गा दिन नसकेको अवस्थामा सोबापत वन विकास कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । त्यसै गरी वन क्षेत्रमा एउटा रुख काटेबापत १० वटा रुखको रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । त्यसै गरी सरकारले कार्बन व्यापारबापतको रकमसमेत यसै कोषमा जम्मा गर्नुपर्ने हुन्छ तर अहिलेसम्म कार्बन व्यापार नभएकाले त्यसबापतको रकम जम्मा हुन सकेको छैन ।”
वन तथा वातावरण मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले रुख रोप्नु र त्यसलाई हुर्काउने प्रक्रिया प्राविधिक विषय भएको र त्यो काम सम्बन्धित आयोजनाहरूले सफलतापूर्वक गर्न नसक्ने देखिएकाले रुख रोप्न र हुर्काउन लाग्ने खर्च वन विकासमा जम्मा गर्नेुपर्ने प्रावधान लागु गरिएको बताउनुभयो ।
देशको सम्पूर्ण भूभागको ४५ प्रतिशत भूभागमा वन क्षेत्र विस्तार गर्ने मन्त्रालयको लक्ष्य रहेकोमा अहिले झन्डै ४० प्रतिशत भूभाग वनजङ्गलको रूपमा रहेको छ ।