अमरराज नहर्की
तनहुँ, भदौ २४ गते । जेनजी पुस्ताको प्रदर्शन चर्किँदै गएपछि तनहुँमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, तनहुँले सदरमुकाम दमौलीमा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा गरिएको क्षेत्रमा पाँच जनाभन्दा धेरै भेला हुन रोक लगाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीद्वारा जारी विज्ञप्तिमा सम्भावित प्रदर्शन, जुलुस, हुल–दङ्गा वा झडपबाट शान्ति सुरक्षा प्रभावित हुन सक्ने परिस्थितिलाई मध्यनजर मङ्गलबार बिहान १० बजेबाट अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।
अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । पूर्व तर्फ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँ, उत्तर तर्फ तनहुँ उद्योग वाणिज्यको सभाहलदेखि प्रशासन गेट सम्म, भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रदेखि प्रदेश जनस्वास्थ्य कार्यालय प्रवेश गेटको सडक क्षेत्र, पश्चिम तर्फ महर्षि वेद व्यास स्कूल, दक्षिण तर्फ व्यास आश्रम निषेज्ञ आज्ञा जारी गरिएको छ ।
निर्देशन उल्लङ्घन गर्ने वा पालना गर्न अवरोध गर्ने व्यक्तिहरूलाई प्रचलित कानून अनुसार कारबाही गरिने व्यहोरा पनि आदेशमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारीले स्थानीयस्तरमा शान्ति र सुरक्षालाई सुनिश्चित गर्न जारी गरेको यो निषेधाज्ञाले नगरपालिकामा सार्वजनिक भेला तथा विरोध कार्यक्रममा अस्थायी प्रतिबन्ध लगाएको छ ।