• २४ भदौ २०८२, मङ्गलबार

संयमित रहन आह्वान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसले ‘जेनजी’ प्रदर्शनका क्रममा युवाले ज्यान गुमाएको र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस बैठकले देशव्यापी जेनजीसहित सबैलाई संयमित रहन अपिल गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा जेनजीको प्रदर्शन हिंसात्मक भएकोप्रति पनि गम्भीर छलफल भएको छ । साथै कांग्रेसले जेनजीका मागप्रति कांग्रेसको गम्भीर दायित्व भएको निष्कर्ष निकाल्दै सुरक्षाकर्मी परिचालन र भिड नियन्त्रण गर्ने क्रममा कमजोरी भएको स्वीकार गरेको छ । 

यसैबिच नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजधानीमा सोमबार भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको ठुलो जनधनको क्षतिले मर्माहत बनेको उल्लेख गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार साँझ विज्ञप्ति जारी गर्दै ‘हृदयविदारक र दुःखद घटना’ भन्नुभएको छ । १९ जनाको मृत्यु हुने गरीको घटना निकै हृदयविदारक र पीडादायी भएको एमालेले बताएको छ । “हाम्रो पार्टी नेकपा एमाले सोमबार भएको घटनामा मृत्युवरण गर्नेहरूको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गर्दछ,” एमालेले भनेको छ । 

यसै गरी नेकपा (माओवादी केन्द्र) ले एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी समूहको आन्दोलनलाई संयमित रूपमा सञ्चालन गर्न आह्वान गरेको छ । साथै मृतकलाई सहिद घोषणा गर्न तथा घाइतेको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गरेको छ । 

काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनलाई बल प्रयोग नगर्न विद्यार्थी सङ्गठनका नेताले सरकारलाई अनुरोध गरेका छन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेर प्रदर्शनकारीको ज्यानसमेत गएपछि विद्यार्थी सङ्गठनका नेताले यस्तो अनुरोध गरेका हुन् । गोरखापत्रसँग कुरा गर्दै सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वयुका अध्यक्ष डा. सुजन कडरियाले सोमबारको घटनाका बारेमा सरकारले समिति बनाएर सत्यतथ्य छानबिन गर्नुपर्ने बताउनुभयो । साथै युवा पुस्ताको भावनालाई सरकारले बेलैमा बुझ्नुपर्ने पनि उहाँले बताउनुभयो । जेनजी भनेर चिनिने युवा पुस्ताले पनि आन्दोलनका क्रममा राष्ट्रभन्दा ठुलो केही हुन्न भन्ने भावनालाई नबिर्सन कडरियाले अनुरोध गर्नुभयो । 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले आन्दोलन कुनै पनि व्यक्तिको नियन्त्रणमा नहुनु दुःखद भएको बताउनुभयो । “आन्दोलनलाई हामीले पनि समर्थन गरेका थियौँ तर नियन्त्रणबाहिर भयो भन्दैमा सरकारले पनि मनपरि बल प्रयोग गर्नु गलत हो,” शेर्पाले भन्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष विजयप्रसाद सापकोटाले आन्दोलनकारीमाथि सामान्य बल प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै गोली प्रहार गर्नु गलत भएको बताउनुभयो । प्रदर्शनमा घाइते भएका व्यक्तिलाई निःशुल्क उपचार गर्न सापकोटाले सरकारसँग अनुरोध गर्नुभयो । विभिन्न राजनीतिक दलनिकट अन्य विद्यार्थी सङ्गठनले पनि युवा पुस्ताको भावनालाई बेलैमा बुझ्न नसक्दा सोमबार अप्रिय घटना भएको भन्दै सरकारको विरोध गरेका छन् । 

आयोगको ध्यानाकर्षण 

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । जेनजी नामक समूहको आह्वानमा सोमबार राजधानीमा भएको प्रदर्शनमा सरकारबाट बल प्रयोग भएपछि आयोगले विज्ञप्ति जारी गरेर यस्तो बताएको हो । 

सोमबार काठमाडौँलगायत देशका विभिन्न सहरमा आयोजना भएको प्रदर्शनको आयोगले अनुगमन टोलीहरू गठन गरी अनुगमन गरेको थियो । अनुगमनका क्रममा हिँडेको आयोगको सवारीसाधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको आयोगले जनाएको छ । 

काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न सहरमा प्रदर्शन भएको आयोगले जनाएको छ । “काठमाडौँको माइतीघरबाट सुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनका क्रममा पाइएको छ,” आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजको समयमै यथोचित सम्बोधन गर्नुपर्ने बताउँदै विज्ञप्तिमार्फत आयोगले यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको समेत बताएको छ । 

“पछिल्लो पुस्ताले उठाएका आवाजको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “साथै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई समेत अनुरोध गर्दछ ।”