• ७ वैशाख २०८१, शुक्रबार

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

blog

 लुम्बिनी, वैशाख ३१ गते । लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला समाचारदाताहरूका अनुसार मतदानमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भए । मतदानपछि गणना स्थलमा मतपेटिका लैजाने काम भएको छ । रातिदेखि नै गणना गर्ने तयारी गरिएको छ । 

बुटवल समाचारदाताका अनुसार रुपन्देहीमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहानदेखिको चर्को गर्मीबीच बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार जिल्लाका १६ वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मतदाता बिहानैदेखि छाता ओढेर भए पनि मतदान गर्न पाउँदा उत्साही देखिएका थिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार जिल्लाका सबै पालिकामा निर्वाचन शान्तिपूर्ण र सौहार्द रूपमा सम्पन्न भएको हो । शुक्रबार भएको मतदानमा बुटवल–८ की ९१ वर्षीया धनकुमारी गिरीले पनि मतदान गर्नुभएको छ । रुपन्देहीमा २०८ वटा मतदान स्थलमा सात सयवटा मतदान केन्द्र तोकिएको थियो । निर्वाचन सुरक्षाका लागि जिल्लामा चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

दोभासे र महिलाको नेतृत्वमा निर्वाचन 

तुलसीपुर समाचारदाताका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ को मतदान केन्द्र तुलसी बोर्डिङको ‘घ’ बुथमा निर्वाचन अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला मात्रै हुनुहुन्छ । त्यस बुथमा फरक क्षमता भएका मतदाताका लागि दोभासेको समेत व्यवस्था गरिएको छ । मतदान अधिकृत माया श्रेष्ठका अनुसार दोभासे स्वयंसेवकका रूपमा फरक क्षमता भएका अजय शर्मा रहनुभएको छ । त्यस मतदान केन्द्रमा दुई जना फरक क्षमता भएका पुरुषले मतदान गर्नुभएको थियो । 

मतदान केन्द्रमा मतदान अधिकृत माया श्रेष्ठसहित सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसमेत महिला हुनुहुन्छ । त्यस केन्द्रमा सावित्राकुमारी गौतम, कमला रावत, रिता रिजाल र झरनाकुमारी बुढामगर हुनुहुन्छ । त्यस्तै पाँच जना प्रहरी र म्यादी प्रहरीसमेत महिला नै हुनुहुन्छ । त्यस मतदान केन्द्रमा एक हजार आठ जना मतदाता हुनुहुन्छ । उक्त मतदान केन्द्रमा अशक्त र ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको समेत व्यवस्था गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ को मतदान केन्द्र अरनिको मैदान तोकिए पनि बिहीबार जिल्लामा वर्षा भएका कारण उक्त मतदान केन्द्र हिलाम्मे बनेको थियो । सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयअनुसार नै बिहीबार नै तुलसी बोर्डिङ स्कुलमा व्यवस्थापन गरिएको मतदान अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो । मतदान केन्द्र व्यवस्थापनमा वर्षाका कारण केही समस्या भएको श्रेष्ठले बताउनुभयो । 

मतगणना स्थलमा उच्च सुरक्षा व्यवस्था

परासी समाचारदाताका अनुसार पश्चिम नवलपरासीका सातवटै स्थानीय तहमा मतगणनाका लागि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको छ । उत्तरतर्फको चुरे पहाडको फेदीदेखि भारतीय सिमानासम्म जोडिएको पश्चिम नवलपरासीका सातवटा स्थानीय तहमा मतगणनाको सुरक्षाका लागि उच्चस्तरको व्यवस्था मिलाइएको जिल्ला मुख्य निर्वाचन आयुक्त ध्रुवकुमार शाहले बताउनुभएको छ । 

मुख्य निर्वाचन आयुक्त ध्रुवकुमार शाहका अनुसार जिल्लाका सातवटै निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार साँझबाट नै मतगणनाको काम सुरु गरिने बताइएको छ । सातवटै निर्वाचन अधिकृतको कार्यालयमा गरिने मतगणनाका 

लागि मतगणना स्थलमा जालीको बार, विभिन्न कोणबाट लगाइएको सीसी क्यामराको व्यवस्था गरिएको छ भने सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित म्यादी प्रहरीको तीन स्तरको सुरक्षा घेरा बनाइएको छ । 

मतगणना स्थलमा लगाइएका सीसी क्यामराबाट निर्वाचन कार्यालयको गतिविधि निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट समेत निगरानी गर्न सकिने व्यवस्था गरिएको सुनवल नगरपालिकाका निर्वाचन अधिकृत लीलाधर अधिकारीले बताउनुभयो ।

गणनाका लागि सुनवल नगरपालिकाको बालविकासको भवन, रामग्राम नगरपालिकाको मतगणनाका लागि परासीको आदर्श माध्यमिक विद्यालय भवनको छतको भाग, सुस्ताको पालिका भवनलगायतमा मतगणनाको व्यवस्था गरिएको छ । नवलपरासीका दक्षिण भारतसँग सिमाना जोडिएका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाकोका पाँचवटा अति संवेदनशील, ६१ वटा संवदनशील मतदान केन्द्रलाई सुरक्षाको विशेष व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।